देशभर बाढीपहिरो : मृत्यु हुनेको संख्या ३० पुग्यो
अखबार टुडे
प्रकाशित:
२०७८, ३ कार्तिक

काठमाडौं, ३ कात्तिक । आइतबारदेखि आएको अविरल वर्षासँगै बाढी र पहिरोमा परेर मृत्यु बुधबार बिहानसम्ममा ३० जनाले ज्यान गुमाएका छन् भने ३१ जना सम्पर्क विहीन छन् ।

कार्तिक १ गतेदेखि लगातार परेको पानीका कारण देशभर ३० जनाको मृत्यु भएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले बताए । उनका अनुसार प्रदेश–१ र सुदूरपश्चिममा धेरै क्षति पुगेको छ ।

बाढी र पहिरोमा परेर २६ जना घाइते भएका छन् । सम्पर्क विहीनहरूको खोजी भइरहेको छ । डोटी जिल्लामा सबैभन्दा धेरै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । बैतडीमा ३ जना, डडेलधुरामा २ जना, कालिकोटमा १ जना, धनकुटामा ६ जना र सुनसरीमा दुई जनाको मृत्यु भएको छ । मनसुनका कारण इलाममा २ जनाले ज्यान गुमाएका छन् ।

क्षति देखाउँदै स्थानीय कर्णाली, ३ कात्तिक । तिला गाउँपालिका ४ जुम्ला नुवाकोट गाउँस्थित बाढीले बनाएको क्षतिबारे जनाउँदै स्थानीय ।

गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार चार सयभन्दा बढी विस्थापित भएका छन् । प्रदेश १ मा मात्रै २२ जनाको मृत्यु भएको महाशाखाको भनाइ छ । नेपालमा असोज ३१ देखी पानी पार्ने प्रणाली सक्रिय भएको थियो ।

गहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेका अनुसार नेपालमा गत असोज ३१ देखि पानी पार्ने प्रणाली सक्रिय भएको थियो । अहिलेसम्म सुदूरपश्चिमलाई नराम्ररी प्रभावित बनाएको छ ।

महाशाखाका प्रमुख पाण्डेका अनुसार पहिरोमा परेर हुम्लामा ६, बझाङमा २३ सम्पर्कविहीन छन् । यस्तै कैलालीमा पनि चार बेपत्ता भएका छन् ।
हुम्लाका प्रजिअ गणेश आचार्यका अनुसार जिल्लामा आइतबारदेखि परेको पानी अहिले बिहान मात्रै रोकिएको छ । उनले खार्पुनाथ गाउँपालिका–५ खर्पेल गाउँमा गएराति पहिरो झरेर एक घर पुरिएको र त्यहाँ रहेका ६ जना सम्पर्कविहीन भएका जानकारी प्राप्त भएको बताएका छन् ।

रतुवा खोलाले घर बगाउने क्रममा दमक, ३ कात्तिक । दमक-७ स्थित पशुहाट बस्तीमा रतुवा खोलामा आएको बाढीले एउटा घर बगाउने क्रममा ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार बाढी, पहिरोका कारण चार सम्पर्कविहीन भएका र उनीहरुको खोजी जारी छ । जिल्लाका ३०० घर प्रभावित भएको उनले जानकारी दिए । अन्य विभिन्न जिल्लामा ठूलो भौतिक क्षति भए पनि यकिन विवरण आइसकेको छैन । अहिले उद्धार कार्यमा मुलुककै ध्यान केन्द्रित भएको र बेपत्ताको खोजीका लागि तीनवटै सुरक्षा निकाय, स्थानीय प्रशासन तथा समुदाय सक्रिय रहेको महाशाखा प्रमुख पाण्डेले जानकारी दिए ।

प्राप्त विवरणमा बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ । त्यसमध्य १५ जिल्लाका अधिकांश राजमार्ग तथा धेरै ठाउँमा विद्युत् र फोन सेवासमेत अवरुद्ध भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

हाल देशको प्रदेश १, २ र बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भू–भागमामा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाकी प्रदेशका एक–दई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो प्रदेश १ का थोरै र प्रदेश २, बागमती, गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया