अमेरिकामा गोली चल्दा पसलका सञ्चालक एक नेपालीको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ३ कार्तिक

काठमाडौं, ३ कार्तिक । अमेरिकाको मासाचुसेट्स राज्यस्थित फल रिभर शहरको एक पसलमा गोली चल्दा पसल सञ्चालक ५४ बर्षीय लालकिशोर महासेठको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पसलमा केही खाने कुरा लिन लाग्दा अज्ञात व्यक्तिले पैसा तिर्ने काउन्टर पछाडिबाट महासेठको छातीमा गोली चलाएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार उनलाई एम्बुलेन्सबाट चार्लटन मेमोरियल अस्पताल पुर्याइएको थियो । अस्पतालले राति ११ बजे उनलाई मृत घोषित गरेको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । गोली हान्ने व्यक्ति २० देखि ३० बर्ष उमेरको र ५ फिट ७ इन्च देखि ५ फिट ९ इन्च अग्लो भएको प्रहरीले स्केच समेत सार्वजनिक गरेको छ ।

अपराधीले गाडा रंगको बस्त्र र खैरो रंगको पिठ्युमा भिर्ने झोला सहित खैरो नाइकी स्नीकर्स जुत्ता लगाएको पाइएको छ । साथै उन्क्त व्यक्तिको औंलाको नजिक उनको हातको दाहिने भित्री भाग मा एक ट्याटु (कलान्यास) समेत भएको प्रहरीले जानकारी दिएको छन् ।

यो घटनाको मधेसी एसोसिएसन अफ अमेरिकाले निन्दा गर्दै वक्तव्य जारी गरेको छ । महासेठ मधेसी एसोसिएसन अफ अमेरिकाका संस्थापक सदस्य थिए । उनी न्यू इङल्यान्ड शाखाका संस्थापक अध्यक्ष समेत थिए । हाल उनी यस संस्थाको केन्द्रीय सल्लाहकार समितिका सदस्य थिए ।
उनी मासाचुसेट्स राज्यको फल रिभरमा परिवारसहित बसोबास गर्थे । महासेठका पत्नी, दुई छोरा र छोरी अमेरिकामै बसोबास गर्छन् ।

प्रतिक्रिया