विराटनगर जलमग्न, विमानस्थलमा बाढी पसेपछि उडान रद्द
अखबार टुडे
प्रकाशित:
२०७८, ३ कार्तिक

विराटनगर, ३ कात्तिक । केही यता निरन्तरको वर्षासँगै आएको बाढीका कारण विराटनगर महानगरपालिका जलमग्न भएको छ । वर्षाका कारण विराटनगरका १९ वडा वडा जलमग्न भएको हो । केसलीया र सिंघिया खोलामा आएको बाढीले विराटनगरका पश्चिम दक्षीण क्षेत्र बढी डुबानमा परेका छन् ।

विराटनगर ९ र १० बाहेक अन्य वडा जलमग्न छन् । मंगलबार राति विराटनगर १ बाट ६ जना र बुधबार बिहान ६ जनाको उद्धार गरिएको थियो । मोरङमा केसलीया, सिंघीया, चिसाङ, बक्राहा र नुनसरी खोलामा आएको बाढी बस्तीमा पसेको थियो । बाढीबाट प्रभावित १५ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङमा प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए ।

यस्तै, विराटनगर विमानस्थलमा पसेपछि उडान रद्द भएको छ । बाढीका कारण विराटनगर विमानस्थल जलमग्न छ । बाढीका कारण विमानस्थलको रनवे, ट्याक्सी वे, टर्मिनल भवन, क्वाटरमा पानी जमेको विमानस्थल प्रमुख उत्सव खरेलले जानकारी दिए । उनका अनुसार बाढीका कारण उडान तत्काल खुल्न सक्ने अवस्था छैन ।

बाढी पसेपछि बुद्ध र यती एअरले सूचना जारी गर्दै काठमाडौं–विराटनगरका लागि आज निर्धारित सबै उडानहरु रद्द गरेको जानकारी दिएका छन् । विमानस्थलमा श्री एयरलाइन्स र बुद्ध एयरको दुई वटा विमान पार्किङ एरियामा रोकिएका छन् । विमान मंगलबार विराटनगर आएका थिए । बाढी पसेपछि विमान उड्नसक्ने अवस्था छैन ।

प्रतिक्रिया