बझाङमा बाढी पहिरोको ताण्डप : २४ जना बेपत्ता, ७ घर पुरिए | उद्धारमा समस्या
अखबार टुडे
प्रकाशित:
२०७८, २ कार्तिक

बझाङ, २ कात्तिक । बझाङमा बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका छन् । सोमबार रातिदेखि आएको अविरल वषौपछि आएको बाढी पहिरोमा परेर थलारा गाउँपालिका–४ डिक्लामा २४ जना हराइरहेका छन् । गाउँबाट एक किलोमिटर माथि रहेको ढोगदिना डाँडा भन्ने ठाँउबाट पहिरो खस्दा ७ घर पहिरोमा पुरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बेपत्ता हुनेमा गगने सार्कीका एकै परिवारका १८ जना र नरे पार्कीको परिवारका ६ जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् ।

यतिबेला पहिरोका कारण तल्लो डिक्ला र माथिल्लो डिक्ला गाउँका स्थानीय त्रिभुवन मावि महेन्द्रधारमा अस्थायी रुपमा आश्रय लिइरहेको प्रहरीले जनाएको छ । पूरा गाउँ पहिरोको जोखिममा परेपछि एक सयभन्दा बढी परिवार विस्थापित भएका छन् । उनीहरु आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउदले बताए ।

पहिरो पीडितको उद्वारमा खटिएको प्रहरी टोली डिक्ला पुगेपनि पहिरो खसिरहेका कारण उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए । उनले भने, ‘पहिरोमा एक जनाको आधा शरीर देखिएको भन्ने खबर आएको छ । पहिरो खसिरहेकाले उद्धार काम हुन सकेको छैन ।’

यस्तै आइतबार रातिबाट सुरु भएको अविरल वर्षाका कारण जिल्लाभर जनजीवन अस्तव्यस्त भएको छ । पहिरोले जयपृथ्वी नगरपालिका – १ पिमी गाउँमा मात्रै ६० परिवार विस्थापित भएको स्थानीयले बताएका छन् । ‘पानी पर्न रोकिएको छैन । मंगलबार राति पनि यस्तै पानी प¥यो भने गाउँ नै बगाउने अवस्था छ,’ स्थानीय उत्तम सिंहले भने ।

यस्तै लगातारको वर्षासँगै सदरमुकाम नजिक भएर बग्ने डुङग्री खोलामा आएको बाढीले डुङग्री बजार र लेकी जोड्ने झोलुङगे पुल बगाएको छ । पुलनजिक रहेका ५ वटा पक्की घर पनि बगाएको र बजारका अरु घरहरु पनि जोखिममा परेको प्रहरीले जनाएको छ ।

अविरल वर्षा र पहिरोले सुदूरपश्चिमका धेरै पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध भएको छ । बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्वारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए ।

पहिरोले जिल्ला जोड्ने जयपृथ्वी राजमार्गण्लगायत जिल्लाभित्रका सबै ग्रामीण सडकअवरुद्ध भएका छन् । नेपाल टेलिकमको संचार सेवा पूर्ण रुपमा अवरुद्ध छ भने एनसेलको सेवा आंशिकरुपमा सूचारु रहेको छ ।

प्रतिक्रिया