ध्वनिभन्दा तीव्र वेगको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको अमेरिकी समाचारको चीनद्वारा खण्डन
अखबार टुडे
प्रकाशित:
२०७८, २ कार्तिक

काठमाडौं, २ असोज । चीनले केही महिनाअगाडि ध्वनिभन्दा तीव्र वेग भएको परमाणु क्षमतायुक्त हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको भन्ने समाचारको खण्डन गर्दै नियमित रूपमा अन्तरिक्ष यानको परीक्षण गरेको दाबी गरेको बीबीसीले उल्लेख गरेको छ ।

चीनको बढ्दो परमाणु क्षमताबारे पश्चिमा देशहरूमा चिन्ता बढ्दै गएको बेला सोमवार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जुलाईमा परीक्षण गरिएको सो खबर असत्य भएको बताए ।

‘त्यो क्षेप्यास्त्र थिएन । त्यो अन्तरिक्ष यान थियो । अन्तरिक्ष यानको प्रयोगको खर्च घटाउन यो महत्त्वपूर्ण छ,’ प्रवक्ता जाओ लिजियानले भने । उनका अनुसार त्यस्तै परीक्षण विगतमा थुप्रै देशहरूले गरेका छन् । फाइनान्सियल टाइम्स पत्रिकामा आएको रिपोर्ट गलत थियो त भनेर सोधिएको प्रश्नको जबाफमा उनले ‘हो’ भने ।
शनिवार फाइनान्सीयल टाइम्स पत्रिकाले पाँच नाम नखुलाइएका स्रोतहरूलाई उद्धृत गर्दै हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरिएको दाबी गरेको थियो । वाशिङ्गटनका स्रोतहरू उल्लेख गरेर छापिएको खबरमा परीक्षणले अमेरिकी अधिकारीहरूलाई चिन्ताग्रस्त्र बनाएको विवरण थियो ।

समाचारमा उक्त क्षेप्यास्त्र अन्तरिक्षको तल्लो कक्षमा उडेर तोकिएको निशानाभन्दा केही पर खसेको उल्लेख छ । समाचारमा ‘सो परीक्षणले चीनले हाइपरसोनिक अस्त्रको क्षेत्रमा गजबको प्रगति गरेको अनि अमेरिकी अधिकारीहरूको अनुमानभन्दा त्यो निकै धेरै प्रगति भएको देखाएका’ उल्लेख गरिएको छ ।

हालैको एक सैनिक परेडमा चीनको हाइपरसोनिक क्षेप्यास्त्र प्रक्षेपण गर्ने आधार देखिएको थियो । चीन, अमेरिका, रुस तथा कम्तीमा पाँच अन्य देशहरूले हाइपरसोनिक क्षेप्यास्त्र प्रविधिमा काम गरिरहेका छन् । गत महिना उत्तर कोरियाले पनि नयाँ हाइपरसोनिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको जनाएको थियो । जुलाईमा रुसले पनि त्यस्तै घोषणा गरेको थियो ।

के हो हाइपरसोनिक क्षेप्यास्त्र?
हाइपरसोनिक क्षेप्यास्त्र आवाजभन्दा पाँच गुणा बढी गतिका हुने र तिनलाई रोक्न अन्य क्षेप्यास्त्रलाई भन्दा कठिन हुने बताइन्छ । बलिस्टिक क्षेप्यास्त्रभन्दा कम गतिको भए पनि हाइपरसोनिक क्षेप्यास्त्रको मार्ग नियन्त्रण गर्न सकिने बताइन्छ ।

अमेरिकी चिन्ता
यसअघि उक्त पत्रिकामा सो खबर आएपछि अमेरिकी सांसद माइकल ग्यालाहरले चीनले यही गतिमा सैन्य शक्ति विस्तार गर्दै रहने र अमेरिकाले कदम नचाल्ने हो भने एक दशकभित्रै अमेरिकाले चीनसँगको नयाँ शीतयुद्धमा पराजय भोग्नुपर्ने चेतावनी दिएका छन् ।
अमेरिका र चीनबीच तनावपूर्ण सम्बन्ध रहेको छ । बेइजिङ्ले राष्ट्रपति जो बाइडनको प्रशासनले आफूप्रति दुस्मनीपूर्ण नीति लिएको आरोप लगाएको छ ।

प्रतिक्रिया