देशका विभिन्न क्षेत्रमा बाढीको वितण्डा, बिहीबारदेखि मौसममा सुधार हुने
अखबार टुडे
प्रकाशित:
२०७८, २ कार्तिक

काठमाडौं, २ कात्तिक । नेपालमा दुई दिनयता लगातार वर्षा भइरहेको छ । लगातार वर्षाका कारण देशका विभिन्न नदीको वहाव बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार एसएमएस अलर्ट जारी गर्दै ती नदीका तटीय क्षेत्र र खासगरी डुबान भइरहने भूभागका बासिन्दालाई सुरक्षित रहन अनुरोध गरिएको छ ।

मंगलवार बिहान ११ बजेसम्म डडेलधुरास्थित महाकाली नदी पारीगाउँ जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, कैलालीस्थित कर्णाली नदी चिसापानी जलमापन केन्द्रमा र जुम्लास्थित तिला नदी सेरीघाट जलमापन केन्द्रमा नदीको जलसतहले सतर्कताको तह नाघेको जनाइएको छ । ती नदीका तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा बस्ने मानिसहरूलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

डोटीस्थित पश्चिम सेती नदी गोपाघाट जलमापन केन्द्रमा पनि जलसतहले खतरा तह पार गरेको भन्दै मंगलवार दिउँसोसम्म उच्च सतर्कताका साथ रहन महाशाखाले अनुरोध गरेको छ ।

यस्तै, कैलाली, खुटिया खोला मुडीभर केन्द्रमा नदीको जलसतह सतर्कता तहनजिक रहेको तथा माथिल्लो भूभागमा थप वर्षा हुने पूर्वानुमान रहेकोले जलसतह थप बढ्न सक्ने हुँदा बुधवारसम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखास्थित वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार मंगलवार बिहानसम्म २४ घण्टाको अवधिमा विशेषगरी सुदूरपश्चिमका अधिकांश केन्द्रहरूमा १०० मिलिमिटरभन्दा बढी पानी परेको मापन गरिएको छ ।

यस्तै, प्रदेश नं १ का मापन केन्द्रहरूमा ५० मिलिमिटरभन्दा बढी पानी परेको छ भने प्रदेश नं २ र वाग्मती प्रदेशका केन्द्रमा त्यसभन्दा कम वर्षा मापन गरिएको छ ।

बुधबारसम्म वर्षा

मंगलबार प्रदेश नं १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं १ का केही स्थान, प्रदेश नं २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा वाग्मती प्रदेशका एक–दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना छ ।

बुधबार प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ । देशका मध्य र पूर्वी उच्च पहाडी, हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी एवं हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै, प्रदेश नं १, २, वाग्मती, गण्डकी प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चाहिँ ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीवारबाट मौसममा क्रमिक सुधार हुने देखिएको छ ।

प्रतिक्रिया