बाढी प्रभावितलाई तत्काल राहत तथा उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७८, २ कार्तिक

काठमाडौं, २ कातिक । प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न ठाउँमा आएको बाढीबाट प्रभावितहरुलाई तत्काल राहत तथा उद्धारको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका छन् ।

आइतबारदेखि अविरल वर्षाका कारण सुदूरपश्चिमलगायत देशका विभिन्न तराई क्षेत्र प्रभावित भएको छ । वर्षाका कारण डुबानबाट हजारौँ हेक्टरमा लगाइएको धान तथा अन्नबाली नष्ट भएको छ भने खेतीयोग्य जमिन बाढीले कटान गरेको छ । बाढीबाट प्रभावितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न प्रधानमन्त्री देउवाले ट्विटमार्फत गृहमन्त्री खाँणलाई निर्देशन दिएका हुन् ।

यस्तै, सुदूरपश्चिमलगायत देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण कृषिमा भएको क्षतिको बारेमा अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बाढीका कारण कृषिमा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी नै रहेको र मातहतका निकायहरूलाई क्षतिको विवरण संकलन गरेर पठाउन भनेको बताए ।

प्रतिक्रिया