साफका उपविजेता नेपाली फुटबल टोलीलाई ५/५ लाख रुपैयाँ दिने सरकारको निर्णय
अखबार टुडे
प्रकाशित:
२०७८, १ कार्तिक

काठमाडौं, १ कार्तिक । साफका उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरूलाई सरकारले प्रति व्यक्ति पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
मङ्गलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले साफ उपविजेता बनेर नेपाल फर्किएको नेपाली फुटबल टोलीका खेलाडीहरूलाई प्रति व्यक्ति पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

त्यस्तै बैठकले फुटबल टोलीको प्रशिक्षकहरूलाई प्रति व्यक्ति तीन लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । साफमा नेपाल २८ बर्षपछि फाइनल पुग्न सफल भएको थियो ।

इस्तै, मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय गरेको छ । ग्लास्गोमा यही अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म जलवायु परिवर्तनसम्बन्धी २६औँ सम्मेलन हुँदैछ ।

यसैगरी बैठकले मोहम्मद जयन्ती (१४९६) का अवसरमा यही कात्तिक २ गते मुस्लिम सुमुदायलाई सार्वजनिक बिदा दिने र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संंशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।

अबुधाबी डाइलगको छैटौँ मन्त्रीस्तरीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई स्वीकृति दिने र लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिसबमोजिम राजपत्राङ्किंत प्रथम श्रेणीका विभिन्न पदहरुमा नियुक्त गर्ने निर्णय भएको उनले बताए ।

बैठकले विभिन्न मन्त्रालयमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय गरेको मन्त्रालयमा मन्त्रिपरिषद्का निर्णय सार्जवनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले जानकारी गराए ।

प्रतिक्रिया