यस्तो छ तीन दिनको मौसम
अखबार टुडे
प्रकाशित:
२०७८, १ कार्तिक

काठमाडौं, १ कार्तिक । मौसम पूर्वानुमान महाशाखाले हाल देशका अधिकांश भूभागमा बदली भई कतिपय स्थानमा हल्का देखि मध्यमसम्म वर्षा भईरहेको जनाएको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा ठूलो वर्षा समेत भइरहेको छ । बङ्गालको खाडी र मध्य भारतमा रहेका न्यून चापीय एवम् पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव अहिले नेपालमा देखिएको महाशाखास्थित मौसमविद् मञ्जु बासीले बताइन् ।
यो क्रम तीन दिन अर्थात् बुधवारसम्म जारी रहन सक्ने महाशाखाको पूर्वानुमान छ । त्यसपछि बिहीवारबाट मौसममा क्रमिक रूपमा सुधार हुँदै जाने मौसमविद् बासीको भनाई छ ।

कहाँका लागि कस्तो पूर्वानुमान?
सोमवार सुदूरपश्चिम प्रदेश, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा प्रदेश नं १, २ र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ । सोमवार प्रदेश नं १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा ठूलो वर्षा हुने समेत सम्भावना रहेको मौसमविद् बासीले बताइन् । मङ्गलवार पनि देशभरि सोमवारको जस्तै महाशाखाको पूर्वानुमान छ ।

बुधवार भने प्रदेश नं १, २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश नं १, २, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा ठूलो वर्षाको समेत सम्भावना रहेको छ ।

अहिलेको वर्षा सामान्य हो ?
मौसमविद् बासीका अनुसार अक्टोबर र नोभेम्बरलाई हामी पोस्ट–मनसुन भनिने र यो बेला बङ्गालको खाडीमा न्यून चापीय क्षेत्र बन्दा त्यहाँबाट जलवाष्पयुक्त हावा नेपालमा छिर्दा वर्षा हुने गर्छ ।
उनले सन् २०१४ को अक्टोबर महिनामै अन्नपूर्ण क्षेत्रको थोराङ्ला भन्ज्याङ क्षेत्रमा हिमपातका कारण ४० जनाभन्दा बढी पर्यटक र नेपाली सहयोगीको ज्यान गएको स्मरण गराइन् । त्यस बेला अन्डमान सागरबाट सुरु भएको हुदहुद आँधीले नेपालका हिमाली क्षेत्रमा हिमपात गराएको थियो ।

डढेलधुरा, डोटी र छेउछाउका क्षेत्रमा विगत १२ घण्टामा ठूलो वर्षा भएको तथा थप हुने पूर्वानुमान रहेकोले रङ्गुन नदी तथा सो क्षेत्रका अन्य ससाना नदीमा बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अपील गरेको छ ।
त्यसैगरी बिदाको मौका पारेर अहिले धेरैले घुमफिर गर्ने भएको हुँदा सुरक्षा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै, कृषि विभागस्थित वरिष्ठ कृषि अर्थविद् महादेवप्रसाद पौडेलका अनुसार पाकेको धानलाई अहिलेको पानीले केही हदसम्म हानि पु¥याउन सक्ने बताए । बीबीसीबाट

प्रतिक्रिया