जम्मु-कश्मीरमा भुठभेड हुँदा ९ सैनिक र १३ आतंकवादीको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, १ कार्तिक

काठमाडौं, १ कात्तिक । भारतको जम्मु–कश्मीरमा गत सोमबारदेखि जारी सेना र आतंकवादी समूहबीचको मुठभेडमा २२ जनाको मृत्यु भएको छ ।
मारिनेमा भारतीय सेनाका ९ जना छन् । यसैगरी भारतीय सेनाले आतंकवादी समूहका १३ जना जनालाई मारेको दाबी गरेको छ ।
भारतीय सेनाले गत सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध अपरेसन सुरु गरेको थियो । अपरेसनको पहिलो दिनमै सेनाका एकजना जुनियर अफिसरसहित ५ जना मारिएका थिए । सेनाको अभियानको दोस्रो दिनपछि फेरि दोहोरो गोली हानाहान भयो र थप दुई जवान मृत्यस भयो ।
अहिले पनि सेना र आतंकवादी समूहबीच पुँछ र राजौरीको घना जंगलमा मुठभेड जारी रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
यसबीच कश्मीरको कुलमागमा आइतबार दुई जना गैरकश्मीरी नागरिकको गोली हानेर हत्या भएको छ । मारिनेहरुमा उत्तर प्रदेशको सहरानपुरका सगीर अहमद र बिहारको बाँका क्षेत्रका अरविन्द कुमार साह रहेका छन् ।
अरविन्द कुमार श्रीनगरको इदगाहा भन्ने ठाउँमा पानी पुरी बेच्ने गर्दथे । उनी मारिएको एक घण्टापछि कश्मीरको पुलवामा सगीर अहमद मारिए । उनी काठको मिस्त्री थिए । उनीहरुलाई आतंकवादी समूहले गोली हानेर मारेको दाबी गरिएको छ ।
त्यसअघि शनिबार पनि दुई जना मजदुरको गोली हानेर हत्या गरिएको थियो । सर्वसाधारण व्यक्तिको हत्यापछि कश्मीरका राजनीतिक दलहरुले आक्रोश व्यक्त गरेका छन् । यो हत्यापछि भारतीय सुरक्षा बलले थालेको अपरेशनको क्रममा १३ जना आतंकवादीलाई मारेको दाबी गरिएको छ ।

प्रतिक्रिया