टी-२० विश्वकप आजदेखि, श्रीलंका र बंगलादेशले कनि खेल्दैछन् पहिलो चरण ?
अखबार टुडे
प्रकाशित:
२०७८, ३१ आश्विन

काठकाडौं, ३१ असोज । कोभिड–१९ कारण एक वर्ष सरेको सातौँ टी–२० विश्वकप आजदेखि सुरु हुँदैछ । युएई र ओमानमा हुने विश्वकपमा दुई चरणमा प्रतिस्पर्धा हुँदैछ । यसअघि यो विश्वकप सन् २०२० मा अस्ट्रेलियामा हुने तय थियो ।

पहिलो चरणमा आठ टिमलाई दुई समूहमा विभाजन गरिएका छन् । समूह ‘ए’ मा पूर्व च्याम्पियन श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन् भने समूह ‘बी’ बंगलादेश, स्कटल्यान्ड, पपुवा न्युगिनी र ओमान छन् ।

क्वालिफायर राउन्डमा दुवै समूहका शीर्ष दुई टोली विश्वकपको मुख्य समूह चरणका खेलहरु छनोट हुनेछन् अर्थात समूह विजेता र उपविजेता गरी चार टिम सुपर–१२ मा पुग्नेछन् ।

श्रीलंका र बंगलादेशले कनि खेल्दैछन् पहिलो चरण ?
श्रीलंका र बंगलादेशले भने टि–२० बरीयता कारण पहिलो चरणमा प्रतिस्पर्धा गर्नुपरेको हो । सन् २०१८ को डिसेम्बरसम्म आइसिसीको टी–२० वरीयताको शीर्ष १० टिम टी–२० विश्वकपका लागि छनोट भएका थिए ।

जसमा पाकिस्तान, भारत, इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, वेस्ट इन्डिज र अफगातिस्तान वरीयताको शीर्ष ८ मा पर्दै सुपर–१२ का लागि सिधै छनोट भएका थिए । पूर्व च्याम्पियन श्रीलंका वरीयतामा नवौं भएको तथा दशौं वरीयताको बंगलादेश टी–२० विश्वकपका लागि सिधै छनोट भए पनि दुवै टिमले वरीयताका कारण पहिलो चरण खेल्नु पर्ने भएको थियो ।

आइसिसीले वरीयताका शीर्ष आठ टिमलाई सिधै सुपर १२ मा स्थान दिँदा नवौं र दशौं वरीयताका टिमले पहिलो चरणमा खेल्नु पर्ने नियम बनाएको थियो । श्रीलंका र बंगलादेशभन्दा पछि आइसिसीको स्थायी सदस्यको मान्यता पाएको अफगानिस्तानले भने वरीयताको आठौं स्थानमा रहेकाले सुपर १२ मा सिधैं स्थान पाएको हो ।

नेपालले किन खेल्न पाएन ?
आयरल्यान्ड, पिएनजी, स्कटल्यान्ड, ओमान, नेदरल्यान्ड्स र नामिबियाले छनोट चरण पार गरेका थिए । छनोट चरणमा नेपाल भने असफल भएको थियो । एसिया छनोटबाटै बाहिरिदा नेपाल विश्व छनोटमा पुग्न असफल भएको थियो ।

दोस्रो चरणका खेलहरु
पहिलो चरणबाट चार टिम सुपर–१२ पुगेपछि २३ अक्टोबरबाट दोस्रो चरणका खेलहरु हुनेछन् । जसमा अस्ट्रेलिया र दक्षिण अफ्रिका तथा इंग्ल्यान्ड र वेस्ट इन्डिज पहिलो दिन भिड्नेछन् । २४ अक्टोबरमा भारत र पाकिस्तानबीच खेल हुनेछ ।
दोस्रो चरणको समूह १मा इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, पहिलो चरणका समूह ए विजेता र समूह बी उपविजेता राष्ट्र हुनेछन् । यस्तै, समूह२ भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, पहिलो चरणका समूह ए उपविजेता र समूह बी विजेता राष्ट्र हुनेछन् ।

प्रतिक्रिया