म्यानमारका सेना प्रमुखलाई आसियान सम्मेलनमा सहभागी नगराइने
अखबार टुडे
प्रकाशित:
२०७८, ३१ आश्विन

काठमाडौं, ३१ असोज । गत फेब्रुअरीमा सत्ता हत्याएका म्यानमारका सैनिक जनरल (मिन आङ ह्लाइङ)लाई आसियान सम्मेलनमा सहभागी नगराइने भएको छ ।
दक्षिण पूर्वी एसियाली देशहरूको सङ्गठन (आसियान)ले जनरल मिन ओङ ह्लाइङको सट्टामा गैर राजनीतिक प्रतिनिधि बोलाउने सहमति गरेका छन् । आसियानले सम्मेलनमा भाग लिन आफूले निम्तो दिने म्यानमारका प्रतिनिधिको नाम भने खुलाएको छैन ।

सदस्य देशका आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने परम्परा रहेको १० सदस्यीय क्षेत्रीय समूहले गरेको यो अभूतपूर्व किसिमको निर्णय बताइएको छ । आगामी अक्टोबर २६ देखि २८ सम्म ब्रुनेईमा आसियान शिखर बैठक हुँदैछ ।

आसियानले शुक्रवार बसेको उक्त सङ्गठन आबद्ध देशका विदेशमन्त्रीको आपत्कालीन बैठकमा म्यानमारको सेनालाई शिखर बैठकमा प्रतिनिधित्व गर्न दिने या नदिनेमा सहमति नभएको विज्ञप्तिमार्फत् जनाएको छ ।

आसियानले म्यानमारको द्वन्द्व अन्त्य गर्न सेनाले पर्याप्त नगरेको बताएको छ । उक्त समूहले म्यानमारका सैनिक नेताहरूले संवाद र द्वन्द्व कम गर्ने आफ्ना वाचा पूरा गर्न नसकेको र आफ्ना प्रतिनिधिहरूलाई हाल नजरबन्दमा राखिएकी आङ सान सू चीलाई भेट्न नदिइएको जनाएको छ ।

यस्तै, आयोजक रहेको ब्रुनाइले म्यानमारको अवस्थाले ‘क्षेत्रीय सुरक्षा, एकता, विश्वसनीयता र आसियानको केन्द्रीयतामा प्रभाव पारिरहेको’ जनाएको छ । गएको एप्रिलमा आसियानले म्यानमारका सैनिक प्रमुखलाई देशमा जारी हिंसात्मक दमन रोक्न र राजनीतिक बन्दी रिहा गर्न आग्रह गरेको थियो ।

ब्याङ्ककमा रहेका बीबीसी संवाददाता जोनाथन हेडका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनसहित अन्य विश्व नेताहरू समेत सहभागी हुने सम्मेलनमा म्यानमारका सैनिक जनरललाई सहभागी नगराइनु अन्तर्राष्ट्रिय मान्यताको अपेक्षा गरिरहेको सैनिक सरकारका लागि ठूलो धक्का हो ।

फेब्रुअरीमा सेनाले सत्ता हातमा लिए यता म्यानमारभर प्रदर्शनहरू भएका छन् । सुरक्षा फौजहरूले गरेका निर्मम दमनमा १ हजार भन्दा बढी मारिएको र ६ हजार भन्दा बढीलाई थुनामा लिइएका राजनीतिक बन्दीहरूलाई सहयोग गर्ने एउटा निकायले जनाएको छ । – बीबीसीबाट

प्रतिक्रिया