अफगानिस्तानमा आत्मघाती हमला हुँदा ४७ जनाको मृत्यु, कैयौँ घाइते
अखबार टुडे
प्रकाशित:
२०७८, ३० आश्विन

काबुल, ३० असोज (एजेन्सी) । अफगानिस्तानको कान्दहार शहरस्थित एउटा शिया मस्जिदमा बम आक्रमण हुँदा ४७ जनाको मृत्यु भएको अलजजिराले जनाएको छ ।
शुक्रबारको साप्ताहिक प्रार्थनाका बेला बीबी फातिमा मस्जिदमा बम आक्रमण भएको हो । उक्त आक्रमणमा ७० जना घाइते भएका छन् ।
प्रत्यक्षदशीका अनुसार तीन जना आक्रमणकारीले आत्मघाती बम आक्रमण गरेकोे हो । एक जना आक्रमणकारीले मस्जिदको प्रवेशद्वारमा र दुई जनाले भित्र विष्फोट गराएका थिए ।
शुक्रबारको साप्ताहिक प्रार्थना हुने भएकाले मस्जिद मानिसहरुले भरिभराउ थियो । घटनास्थलको तस्वीरमा मस्जिदका झ्यालका सिसाहरु फुटेका र शवहरु भुइँमा यत्रतत्र छरिएको देखिन्छ । तालिबानले विशेष सुरक्षा फौजले घटनास्थल घेरामा राखेको छ र घाइतेहरुको उपचारका लागि रगत आवश्यक परेकाले रक्तदान गर्न आह्वान गरेको छ ।
यो आक्रमणको जिम्मा कसैले पनि लिएको छैन । एक साता अगाडि शुक्रबारकै दिन पनि उत्तरी कुन्दुज प्रान्तस्थित शिया मस्जिदमा विष्फोट हुँदा ५० जनाको ज्यान गएको थियो । सो घटनाको आईएस–केले जिम्मा लिएको थियो ।

प्रतिक्रिया