साफ च्याम्पियनसिपः उपाधि दाबेदारीमा भारत कि नेपाल अगाडि ?
अखबार टुडे
प्रकाशित:
२०७८, २९ आश्विन

काठमाडौं, २९ असोज । फाइनलसम्म पुगेको टोली कमजोर हुने कुरै भएन । यसपाली माल्दिभ्स पुगेको नेपाली टोली कमजोर नभएको प्रमाणित भइसकेको छ ।
भारतले खराब शुरुआत गरे पनि फाइनल सम्मको यात्रा तय गर्दा उसको खेल झन् परिष्कृत बनेको छ र उपाधिको बलियो दाबेदारका रूपमा उभिइसकेको छ ।

शनिवार हुने फाइनल भारतको दक्षिण एसियाली फुटबलमा राज गर्ने दौडको निरन्तरता विरुद्ध साफ च्याम्पियनसिपमा नयाँ विजेताका रूपमा उदाउने उत्कट चाहनामा रहेको नेपालबीचको घमासान प्रतिस्पर्धा हुनेछ ।

नेपालको हकमा भन्ने हो भने यो नेपाली फुटबलको निकै नै महत्त्वपूर्ण क्षणमध्येको एक हुनेछ । जितले नेपाललाई दक्षिण एसियाली फुटबलको नयाँ विजेताको उपमा दिलाउनेछ भने नेपाली फुटबलको स्तरवृद्धिको प्रमाणपत्र पनि । व्यग्र प्रतीक्षा गरिएको सो खेल शनिवार राती माल्दिभ्सको राष्ट्रिय रंगशालामा हुँदैछ ।

हतियार
निसन्देह भारतीय कप्तान सुनिल क्षेत्री नेपाल विरुद्धको सबैभन्दा बलियो हतियार हुन् । जारी प्रतियोगितामा उनले ४ गोल गरिसकेका छन् र प्रतियोगिताको उच्च गोलकर्ता र उत्कृष्ट खेलाडीको दाबेदारीमा अग्रपंक्तिमा छन् ।

ठीक विपरीत नेपालसँग चुस्त मिडफिल्डर अञ्जन विष्ट हुने छैनन् । दुई पहेँलो कार्ड पाएका कारण उनले महत्त्वपूर्ण फाइनल खेल्नबाट वञ्चित भएका छन् ।

अञ्जन नहुँदा टोलीमा फरक पर्ने निश्चित छ । तर प्रशिक्षकले हरेक खेलमा फरक फरक रणनीति अपनाएकोले टोली उनमा मात्र निर्भर भने हुनेछैन । हुनपनि जारी प्रतियोगितामा नेपालले हरेक खेलमा फरक शैली अपनाएको छ । र फरक फरक खेलमा फरक खेलाडीहरू चम्किएका छन् ।

त्यसो त भारतले दुई पहेँलो कार्ड खाएका रक्षापंक्तिका सुभासिस घोष र चोटका कारण अग्रपंक्तिका फारुख चौधरीलाई पनि फाइनल गुमाइसकेको छ ।

प्रशिक्षक
रोचक कुरा के हो भने फाइनलमा भारतीय प्रशिक्षक इगोर हुनेछैनन् । माल्दिभ्ससँगको खेलमा रेफ्रीको निर्णयमा बारम्बार असन्तुष्टि जनाएपछि उनले पनि दोहोरो पहेँलो कार्ड सहित रातो कार्ड पाएका कारण सेकेन्ड हाफमा मैदान छोड्नु परेको थियो ।
पक्कै पनि त्यो नेपाली प्रशिक्षक अल मुताइरीको लागि भने केही सहज स्थिति बन्नसक्छ ।

इतिहास
निश्चित रूपमा नेपाली फुटबलको दाँजोमा भारतीय फुटबल हरेक दृष्टिकोणबाट समृद्ध छ । त्यहाँ भारतीय फुटबल खेलाडीहरूको प्रसिद्ध फुटबल प्रतियोगिता आइपीएल चल्छ, जुन धेरै दर्शकले हेर्ने विश्वको चर्चित फुटबल प्रतियोगितामध्येको एकमा पर्छ ।

उनीहरू सार्क क्षेत्रभन्दा माथि उड्ने अभियानमा लगातार मेहनत गरिरहेका छन् । साफ च्याम्पियनसिप त भारतले सातपटक जितिसक्यो । नेपाल त इतिहासमै पहिलोपटक फाइनलमा पुगेको छ । तर दुई टोलीको वर्तमान अवस्था भने विल्कुलै फरक देखिएको छ । नेपाल र भारतबीचको फुटबल भिडन्तमा भारतलाई कहिल्यै पनि सजिलो भएको छैन ।

भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीको भनाइ सापटी लिने हो भने उनले भनेका छन्, ‘जहाँ र जुनसुकै परिस्थितिमा पनि भारतको लागि नेपाल कहिले पनि सजिलो प्रतिस्पर्धी होइन ।’ त्यसका लागि नेपाल भारतको पछिल्लो ताजा भेटकै उदाहरण लिन सकिन्छ् ।

हुन त भारत र नेपालबीचको फुटबल भिडन्तमा अधिकांश नतीजा भारतकै पक्षमा गएका छन् । ३६ वर्ष भइसक्यो नेपाल र भारतबीच फुटबल प्रतिस्पर्धा हुन थालेको । यस अवधिमा यी दुई टोलीबीच २० खेलमा आमने सामने प्रतिस्पर्धा भइसक्यो । जसमा ३ खेलमा मात्र नेपालले जित हात पारेको छ ।

ती जितमा एउटा साफ च्याम्पियनसिप पनि हो । जुन नेपालमा सन् २०१३ मा भएको थियो । स्ट्राइकर अनिल गुरुङ र जुमानु राईले २ गोल गरेपछि नेपाल २–१ ले विजयी भएको थियो । यो खेललाई नेपालको भारत विरुद्धको सबैभन्दा प्रभावशाली जित मानिन्छ ।

नेपालले भारतलाई पहिलोपटक हराएको भने सन् १९९३ मा ढाकामा भएको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साग)मा हो । निर्धारित समयमा २–२ को बराबरीपछि टाइब्रेकरमा पराजित गरेर नेपालले भारतलाई हराएन मात्र, सागमा स्वर्ण पदक समेत जितेको थियो । त्यो बेला नेपालको लागि उमेश प्रधान र मणि शाहले गोल गरेका थिए ।

नेपालले भारतलाई हराएको अर्को अवसर सन् २००६ मा भएको एएफसी च्यालेञ्ज कप फुटबल प्रतियोगितामा हो । नेपाल ३ –० ले विजयी भएको सो खेलमा प्रदिप महर्जनले २ गोल र अर्को गोल बसन्त थापाले गरेका थिए । -बीबीसीबाट

प्रतिक्रिया