साफ च्याम्पियनशिपः बाङ्ग्लादेश नेपालका लागि कति चुनौती ?
अखबार टुडे
प्रकाशित:
२०७८, २७ आश्विन

काठमाडौं, २७ असोज। माल्दिभ्समा जारी साफ च्याम्पियनशिप फुटबलमा नेपाली टोलीले बुधवार साँझ ४ः४५ मा प्रतिद्वन्द्वी बाङ्ग्लादेशसँग खेल्दैछ ।
यो खेल नेपाली फुटबलको लागि धेरै अर्थमा महत्त्वपूर्ण छ । यो खेलबाट कम्तीमा एक अङ्क अर्थात् बराबरी मात्र गर्न सके नेपाल साफ फुटबल च्याम्पियनशिपको फाइनलमा पुग्नेछ । र, साफ च्याम्पियनशिपको २८ वर्षे यात्रामा पहिलो पटक उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । हारको अर्थ भनेको चाहिँ प्रतियोगिताबाट बाहिरिनु हो ।

दक्षिण एशियाको टापु देश माल्दिभ्समा सञ्चालन भइरहेको प्रतियोगिताको १३ औँ संस्करणमा शुरुका दुई खेल जितेपछि नेपाल प्रतियोगिताको दावेदार टोलीको रूपमा देखिएको थियो ।

तर सहभागी सबै पाँच राष्ट्र (नेपाल, भारत, बाङ्ग्लादेश, श्रीलङ्का र आयोजक माल्दिभ्स) ले एक अर्कोसँग खेलेपछि अहिले प्रतियोगिताको समीकरण असाध्यै रोचक र जटिल मोडमा पुगेको छ ।

त्यो रोचक मोडमा नेपाली फुटबल समर्थकहरूले बुझेको एउटै विषय के हो भने नेपालले बाङ्ग्लादेशसँग ’कम्तीमा हार’ नबेहोरे पुग्छ ।

प्रतिद्वन्द्वी

खेलाडीहरूको मनोविज्ञान हेर्ने हो भने नेपाली फुटबल टोली बाङ्ग्लादेशमाथि पछिल्लो समय हावी हुँदै आएको छ । नेपाली खेलाडीहरू भन्ने गर्छन, ‘बाङ्ग्लादेशलाई त ह्याकुलाको कमाल देखाइन्छ नि ।’ तर तथ्याङ्कले त्यसो भनिरहेको छैन ।

यी दुई टोलीबीच तीन दशक लामो फुटबल इतिहासमा २२ पटक आमनेसामने खेल भएका छन् । तीमध्ये १३ खेलमा बाङ्ग्लादेश र ७ खेलमा मात्र नेपाल विजयी भएको छ । दुई खेल बराबरीमा टुङ्गिएको छ ।

साफ च्याम्पियनशिपकै कुरा गर्ने हो भने यी दुई टोली सात पटक भिडेका छन्, जसमा ४ जित बाङ्ग्लादेशको नाममा छ भने नेपालले ३ जित हासिल गरेको छ । तर रमाइलो पक्ष के हो भने नेपालले जितेका तीन खेलहरू पछिल्ला प्रतियोगितामा हुन् ।

त्यसैले नेपाली खेलाडीहरूको मनस्थितिमा ‘ह्याकुला’ बलियो भएको भान परेको हुनुपर्छ । सबैभन्दा ताजा उदाहरण दिने हो भने नेपालले बाङ्ग्लादेशलाई सात महिनाअगाडि काठमाण्डूको दशरथ रङ्गशालामा हराएको हो ।

उक्त जित वर्तमान प्रशिक्षक अब्दुल्लाह अल–मुताइरीको आगमनको ठिक अगाडि भएको हो । बालगोपाल महर्जन प्रशिक्षक भएको टोलीले बाङ्ग्लादेशलाई फाइनलमा पराजित गरी थ्री नेसन्स कपको उपाधि नै जितेको थियो ।

प्रतिक्रिया