साफ च्याम्पियनशिपः प्रतिस्पर्धा थप रोमाञ्चक मोडमा, चारैवटा टोली ‘गर या मर’ अवस्थामा
अखबार टुडे
प्रकाशित:
२०७८, २५ आश्विन

काठमाडौं, २५ असोज । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा आइतबार नेपाली राष्ट्रिय टोली भारतसँग पराजित भएको छ । हारसँगै साफ च्याम्पियनशिप फुटबलको शीर्ष दुईमा उक्लिने चार राष्ट्रबीचको प्रतिस्पर्धा थप रोचक बन्न पुगेको छ ।

नेपाल साफ च्याम्पियनशिपको फाइनलमा पुग्ने यात्राबाट आठ मिनेट मात्रै टाढा थियो । तर खेलको ८२ औँ मिनेटमा नेपाली मूलका भारतीय खेलाडी सुनिल क्षेत्रीले गरेको गोलसँगै नेपाल भारतसँग १–० ले पराजित हुन पुग्यो ।

र, यसले १३ औँ संस्करणसम्म पुगेको साफ च्याम्पियनशिपमा २८ वर्षपछि प्रयासरसत नेपालको फाइनल पुग्ने यात्रा एक खेल पर धकेलिएको छ । यसले नेपाललाई फाइनल पुग्नबाट रोक्यो नै, साफ च्याम्पियनशिपको शीर्ष दुई स्थानमा पुग्ने टोलीहरूको समीकरणमा पनि निकै फरक परिस्थिति सिर्जना हुन पुगेको छ ।

अब लिगको अन्तिम दिन माल्दिभ्सका दुई रङ्गशालामा हुने खेलको नतिजाले नेपाल, भारत, माल्दिभ्स र बाङ्ग्लादेशमध्ये कुनै पनि टोली उक्लिने वा कुनै पनि टोली प्रतियोगिताबाट बाहिर हुन सक्नेछ । लिग तालिकामा समान ६ अङ्क भए पनि गोल भिन्नताको आधारमा माल्दिभ्स पहिलो र नेपाल दोस्रो स्थानमा छ ।

अब समीकरण कस्तो?

साफ च्याम्पियनशिपमा नेपालसहित भारत, माल्दिभ्स, बाङ्ग्लादेश र श्रीलङ्का गरी पाँच राष्ट्र सहभागी छन् । सबै टिमले एक अर्कासँग (राउण्ड रोविन लिग) खेलेपछिका शीर्ष दुई टोलीले सीधै फाइनल खेल्नेछन् । बाँकी टोली प्रतियोगिताबाट बाहिरिनेछन् । श्रीलङ्का प्रतियोगिताबाट पहिल्यै नै बाहिरिसकेको छ ।

अब बुधवार एकै समयमा दुई खेल नेपाल र बाङ्ग्लादेश तथा माल्दिभ्स र भारतबीचको खेलबाट निस्किने नतिजाले दुई टोली छानिनेछ । छ अङ्कको नेपाल अहिले तालिकाको दोस्रो स्थानमा छ । तर यदि बाङ्ग्लादेशसँगको हारेमा टोली प्रतियोगिताबाटै बाहिरिनेछ ।

यदि खेल बराबरी भएमा भने नेपाल ७ अङ्कका साथ फाइनलमा प्रवेश गर्नेछ, जित्ने टोली ९ अङ्कसहित तालिकाको शीर्ष स्थानमा रहेर फाइनल पुग्नेछ । बाङ्ग्लादेश भने पराजित हुनासाथ प्रतियोगिताबाट बाहिरिनेछ। किनकि उसको अङ्क ४ मात्र छ ।

हारपछि भारत माल्दिभ्सको खेलको नतिजाले बाङ्ग्लादेशलाई कुनै असर पर्नेछैन । यदि बाङ्ग्लादेशले नेपाललाई हराएमा ऊ फाइनलमा प्रवेश गर्नेछ । यता आयोजक भारत र माल्दिभ्सबीच हुने खेलमा जो पराजित हुन्छ, त्यो टोली प्रतियोगिताबाट बाहिरिनेछ ।
बराबरी भएमा भारत आउट हुनेछ। ऊसँग अहिले पाँच अङ्क मात्र छ । माल्दिभ्सको स्थिति पनि उस्तै छ । हारले उसलाई प्रतियोगिताबाटै बाहिर गराउनेछ ।

नेपाल र बाङ्ग्लादेशबीचको नतिजा जे आए पनि माल्दिभ्सलाई त्यो नतिजाले केही प्रभाव पर्नेछैन, अर्थात् बुधवारको खेल चारैवटा टोलीका लागि ‘गर या मर’ हुनेछ । खेल नेपाली समय अनुसार साँझ पौने पाँच बजे एकसाथ दुवै खेल हुनेछ । नेपाली प्रशिक्षक अल्मुताइरीले खेलपछिको पत्रकार सम्मेलनमा अब सम्पूर्ण ध्यान बाङ्ग्लादेशको खेलमा केन्द्रित गर्ने बताएका छन् । -बीबीसीबाट

प्रतिक्रिया