एउटा कन्टेनरमा अलपत्र छाडिएका नेपालीसहित १२६ आप्रवासीको ग्वाटेमालाबाट उद्धार
अखबार टुडे
प्रकाशित:
२०७८, २४ आश्विन

काठमाडौं, २४ असोज । जोखिम मोलेर अमेरिका जान खोजेका नेपालीसहित १ सय २६ जना आप्रवासीको ग्वाटेमालामा कन्टेनरबाट उद्धार गरिएको छ ।
सडक छेउमा एउटा कन्टेनरमा अलपत्र छाडिएका १ सय २६ जना आप्रवासीलाई ग्वाटेमालामा प्रहरीले उद्धार गरेका हुन् । कन्टेनरभित्र चिच्याएको स्थानीयहरूले सुनेपछि उनीहरूको उद्धार गरिएको बीबीसीले जनाएको छ ।
उनीहरूलाई मेक्सिको हुँदै अमेरिका पुर्याउनका लागि रकम असुलेका मानव तस्करले त्यहाँ छोडेको हुनसक्ने सरकारी निकायहरूको अनुमान छ । १ सय २६ मध्ये सयभन्दा बढी हाइटीका नागरिक छन् । नेपाल र घानाका नागरिक पनि कन्टेनरमा रहेका खबरमा उल्लेख छ ।
ग्वाटेमालाको आप्रवासन सम्बन्धी निकायकी प्रवक्ता आलेखान्द्रा मेनाले आप्रवासीहरू होन्डुरस पुगेको र त्यहाँबाट असुरक्षित रूपमा उत्तर हुँदै अमेरिकातर्फ अघि बढेको बताएको छ । उनीहरूलाई होन्डुरसको सीमामा पुर्याएर त्यहाँका निकायलाई जिम्मा लगाउने तयारी छ ।

प्रतिक्रिया