बुटवलको औद्योगिक क्षेत्रमा प्रदर्शन : प्रहरीको गोली लागेर ४ जनाको मृत्यु, दर्जन घाइते
अखबार टुडे
प्रकाशित:
२०७८, २४ आश्विन

बुटवल, २४ असोज । बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्दा *४ जनाको मृत्यु भएको छ । उक्त क्रममा दर्जनौँ घाइते भएका छन् ।
अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनावको स्थिति सिर्जना भएको हो । सो क्रममा स्थानीय र प्रहरीबीच झडपका क्रममा गोली चलाउनुपरेको प्रहरीको दाबी छ । तर, स्थानीयले भने प्रशासनले अन्धाधुन्दा गोली चलाउन आदेश दिएर ज्यादती गरेको बताएका छन् ।
प्रदर्शनको क्रममा मृत्यु हुनेको पहिचान खुलिसकेको छैन । गोली लागेर घाइते भएपछि भैरहवा मेडिकल कलेज लैजाने क्रममा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदर्शनका क्रममा प्रहरी पनि घाइते भएका छन् । मेडिकल कलेजमा अहिले ५ जना प्रहरी र ५ जना सर्वसाधारणको उपचार भइरहेको छ ।
यस्तै, लुम्बिनी प्रदेश अस्पतालमा गोली लागेका ६ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ । प्रहरीका अनुसार प्रदर्शनका क्रममा झडप हुँदा १५ जना सर्वसाधारण र १६ जना प्रहरी घाइते भएका छन् ।
प्रहरीले गएराति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई पक्राउ गरेपछि स्थानीय आक्रोशित भएका थिए । प्रशासनले तीन दिनदेखि रातको समयमा टहराहरु भत्काउँदै आएको स्थानीय आरोप लगाएका छन् ।

स्थिति नियन्त्रण बाहिर जान सक्ने भन्दै स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा उल्लेख गरिए अनुसार आइतबार ४ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यु जारी गरिएको छ ।

*अपडेट गरिएको

प्रतिक्रिया