बागमती प्रदेश : दसैँपछिमात्र मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने
अखबार टुडे
प्रकाशित:
२०७८, २४ आश्विन

हेटौडा, २४ असोज । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव आइतबार प्रदेशसभामा पेश गरेकी छन् । तर, प्रस्तावमाथि छलफल र मतदान भने ४ कात्तिकमा मात्र हुने भएको छ । आइतबार छलफल नै नगरी प्रदेशसभा बैठक ४ कात्तिकसम्म स्थगित गरिएको हो । योसँगै विश्वासको मतमाथि दशैंपछि मात्र छलफल हुने भएको छ ।

नेकपा एमाले विभाजनसँगै अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन शुक्रबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरेकी थिइन् । आइतबारको बैठकमा मुख्यमन्त्री शाक्य र दलीय आधारमा शीर्ष नेताहरुले सम्बोधन त गरिन्, तर, राजनीतिक कुरा गरिनन् । उनले सम्बोधनमा समाजवादको यात्राको लागि राजनीतिक कुराले मात्रै परिवर्तन नहुने भएकाले सांस्कृतिक र सामाजिक रुपान्तरण आवश्यक रहेको धारणा व्यक्त गरिन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले संविधान बचाउनुपर्ने अवस्था रहेको भन्दै अल्पमतको सरकार तत्काल हट्नुपर्ने बताए ।

एमालेका विभाजनपछि १३ सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि शाक्यले विश्वासको मत लिन लागेकी हुन् । बागमती प्रदेश सभाका कूल १०९ सांसदमध्ये एमालेका ४३, कांग्रेसका २२, माओवादीका २३, समाजवादीका १३, विवेकशील साझाका ३, नेमकिपाका २, राप्रपाका २ र स्वतन्त्र सांसद एक जना छन् ।

विश्वासको मत पाउन शाक्यलाई ५७ मत आवश्यक पर्छ । गठबन्धनमा रहेका दलहरुको बहुमत रहेका कारण शाक्यले विश्वासको मत पाउने सम्भावना न्यून छ ।

प्रतिक्रिया