
बुटवल, २४ असोज । रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप भएको छ । सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाउँदा केही घाइते भएका छन् ।
उत्पन्न स्थिति नियन्त्रण बाहिर जान सक्ने भन्दै स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा उल्लेख गरिए अनुसार आइतबार ४ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यु जारी गरिएको छ ।
सो औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो । त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ । जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयवासीले विरोध गरेका थिए । करिब २०० बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो ।
विसं २०७२ चैत १ गते मोतीपुरमा पाँच वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भयो । बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति थियो । सो जग्गा अतिक्रमण गर्न साविक लुम्बिनीका विभिन्न जिल्लाबाट स्थानीयवासी बुटवल आएको प्रहरीले जनाएको छ ।
