काठमाडौं, २४ असोज । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा आइतबार नेपाल र भारत खेल्दैछन् । खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।
भारतसँगको खेलअघि बोल्दै नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टोलीले भारतीय टोलीसँग नडराउने बताएका छन् । उनले नेपाल भारतसँग जित्नकै लागि खेल्ने पनि बताएका छन् ।
त्यस्तै कप्तान किरण चेम्जोङले साफ च्याम्पियनसिप जित्ने आफ्नो, टोलीको र नेपाली फुटबलप्रेमीको सपना पूरा गर्न भारतसँगको खेल महत्त्वपूर्ण रहेको बताएका छन् ।
भारत साफमा सात पटकको विजेता हो । नेपाल र भारत अहिलेसम्म २१ खेल खेलेकोमा भारतले १४ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएका छन् ।
यसअघिका दुई खेल जितेको नेपाल ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले र दोस्रो खेलमा श्रीलङ्कालाई ३–२ ले हराएको थियो । दुई खेलमा बराबरी खेलेको भारत २ अङ्कसहित चौथो स्थानमा छ । भारतलाई फाइनल पुग्न अबका बाँकी दुई खेल जित्नै पर्ने दबाब छ । भारतले पहिलो खेलमा बङ्गलादेशसँग १÷१ गोलको बराबरी र दोस्रो खेलमा श्रीलङ्कासँग गोलरहित बराबरी खेलेको थियो ।