अमेरिका र तालिबानबीच पहिलो औपचारिक वार्ता हुँदै
अखबार टुडे
प्रकाशित:
२०७८, २३ आश्विन

काबुल, २३ असोज । अमेरिकाले तालिबानसँग पहिलो पटक औपचारिक वार्ता गर्ने भएको छ । कतारको राजधानी दोहामा अमेरिका र तालिबानबीच दुई दिन वार्तामा हुने तय भएको अमेरिकी विदेश मन्त्रालयलाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
तालिबानका वरिष्ठ अधिकारीसँगको वार्तामा महिला र बालिकासहित सबै अफगानिहरुको अधिकारको सम्मान गर्न र व्यापक समर्थन सहित समावेशी सरकार गठन गर्न दबाब दिने अमेरिकी तयारी छ ।
‘अफगानिस्तानले गम्भीर आर्थिक सङ्कुचन र मानवीय सङ्कटको सामना गरिरहेको छ, हामी तालिबानलाई मानवअधिकारको रक्षाको लागि दबाब दिनेछौँ ’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसलाई उदृत गर्दै एएफपीले उल्लेख गरेको छ ।
अमेरिकाले अहिले नै अफगानिस्तानमा तालिबान शासनलाई मान्यता दिन नसकिने स्पष्ट पारेको छ । तालिबानसँगको वार्तामा अमेरिकाले अफगानिस्तानमा रहेका अमेरिकी नागरिकलाई देश छाड्न दिने विषयलाई मुख्य प्राथमिकता दिनेछ ।
गएको अगष्टमा तालिबानले सत्ता कब्जा गरेपछि अमेरिका औपचारिक सम्पर्कमा थिएन ।

प्रतिक्रिया