बेलायतले नेपाललाई ‘रातो सूची’बाट हटायो
अखबार टुडे
प्रकाशित:
२०७८, २२ आश्विन

काठमाडौं, २२ असोज । आउँदो सोमवारदेखि लागू हुने गरी बेलायतले नेपाललाई रातो सूचीबाट हटाएको छ । अब बेलायत यात्रा गर्ने नेपाली विद्यार्थी तथा यात्रुहरुलाई सहज हुने भएको छ ।
अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरफेर गर्ने तालिकाअनुसार बेलायत सरकारले नेपाललगायत ४७ देशलाई रातो सूचीबाट हटाएको हो ।
रातो सूचीबाट हटेसँगै कोभिड–१९ विरुद्धको खोपको पूर्ण मात्रा लगाएकाहरू बेलायत जाँदा अनिवार्य होटल क्वरेण्टीनमा बस्नु पर्ने छैन । अब होम क्वरेण्टीनमा बस्दा हुनेछ ।
कोरोना महामारीका कारण बेलायतले नेपालसहित विश्वका धेरै देशलाई रातो सूचीमा राखेको थियो । बेलायतले अझै पनि पानामा, पेरु, कोलम्बिया, भेनेजुएला, इक्वेडर, हाइटी र डोमिनिक रिपब्लिकलाई भने रातो सूचीमा नै राखेको छ ।
यस्तै, बेलायतले अक्सफोर्ड एस्ट्राजेनेका, फाइजर, मोडेर्ना र जोनसोन एण्ड जोनसोनको खोप लगाएकालाई आफ्नो देश प्रवेशमा अनुमति दिएको छ । नेपालबाट बेलायत जाँदा खोप लगाएको प्रमाण पेस गर्नुपर्ने हुन्छ् ।
लण्डनमा रहेको नेपाली दूतावासले बेलायतले नेपाललाई रातो सूचीबाट हटाएकोमा धन्यवाद दिएको छ ।

प्रतिक्रिया