बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडाबृद्धि : उपत्यकामा छुट्टै भाडादर
अखबार टुडे
प्रकाशित:
२०७८, २१ आश्विन

काठमाडौं, २१ असोज । सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । बागमती प्रदेश सरकारले १ कात्तिकदेखि लागू हुने गरी बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको हो ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले कात्तिक पहिलो सातादेखि लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको छ । प्रदेश सरकारले काठमाडौं उपत्यकाको हकमा छुट्टै भाडादर लागू गरेको छ । नयाँ भाडादरअनुसार अब काठमाडौं उपत्यकामा यात्रा गर्ने यात्रुले ३५ रुपैयाँसम्म भाडा तिर्नुपर्ने भएको छ ।

उपत्यकामा यात्रा गर्ने यात्रुले २० किलोमिटरभन्दा बढीको दूरीमा यात्रा गर्ने यात्रुले ३५ रुपैयाँ भाडा तिर्नुपर्ने छ । यस्तै, २० किलोमिटरसम्मको दूरीमा यात्रा गर्ने यात्रुले ३० रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ ।

साथै, प्रदेश सरकाले बढाएको नयाँ भाडादरअनुसार १५ किलोमिटरको दूरीभित्र यात्रा गर्ने यात्रुले २८ रुपैयाँ, १० किलोमिटर भित्र यात्रा गर्ने यात्रुले २३ रुपैयाँ र ५ किलोमिटरसम्मको दूरीमा यात्रा गर्ने यात्रुले १८ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ ।

समायोजित भाडादर अनुसार अब उपत्यकामा यात्रा गर्ने यात्रुले सबैभन्दा छोटो दूरीमा यात्रा गर्दा कम्तिमा १८ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ । यसअघि, सार्वजनिक यातायातले सबैभन्दा छोटो दूरीको यात्रा गर्ने यात्रुसँग न्यूनतम १५ रुपैयाँ लिँदै आएका थिए ।

प्रतिक्रिया