पाकिस्तानमा भूकम्प : २० जनाको मृत्यु, सयौँ घाइते
अखबार टुडे
प्रकाशित:
२०७८, २१ आश्विन

काठमाडौं, २१ असोज । पाकिस्तानमा बिहीबार बिहान भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु भएको छ भने कयौं व्यक्तिहरु घाइते भएका छन् ।

पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तको क्वेटा क्षेत्रमा बिहान करिब ३ बजेतिर ५.७ म्याग्निच्युटको भूकम्प त्यहाँको स्थानीय मिडियाले जनाएका छन् । बिहानको समयमा मानिसहरु सुतिरहेका बेला भूकम्पको धक्का महसुस भएपछि भागाभाग भएको थियो । भूकम्पबाट ठूलो क्षति भएको अनुमान गरिएपनि यकिन हुन सकेको छैन ।

बलुचिस्तान प्रान्तका आन्तरिक मामिलामन्त्री मिर जिया उल्लाहले अहिलेसम्म २० जनाको मृत्यु भएको पुष्टि गरेको भएपनि मृतकको संख्या बढ्न सक्ने बताएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

भूकम्पका कारण घरहरू भत्कँदा च्यापिएर मानिसहरूको ज्यान गएको एक अधिकारीले बताए । मृतकमध्ये अधिकांश महिला तथा बालबालिका रहेको समाचार संस्था रोयटर्सले जनाएको छ । कम्तीमा १५० जना घाइते भएको स्थानीय अधिकारीहरूले बीबीसी उर्दूलाई बताएका छन् । तीमध्ये कतिपयको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । बलोचिस्तानका आन्तरिक मामिलामन्त्री मीर जिआउल्लाह लङ्गुले प्रभावित क्षेत्रमा आपत्कालीन सेवा शुरू गरिएको बीबीसीलाई बताएका छन् ।

भूकम्पले घरहरु भत्किएका र बाटो अवरुद्ध भएका दृष्य सामाजिक सन्जालमा सेयर गरिएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार घरका छत र भित्ता भत्किंदा धेरै व्यक्तिहरु च्यापिएका छन् । भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी छ ।

प्रतिक्रिया