‘गठबन्धनको खिचलो’माथि बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यको दाउ !
अखबार टुडे
प्रकाशित:
२०७८, २० आश्विन

हेटौंडा, २० असोज । बागमती प्रदेश सरकारले २४ असोज अर्थात आगामी आइतबार नवौंँ हिउँदे अधिवेशन आह्वान गरेको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएपछि अधिवेशन आह्वान गरिएको हो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो । मुख्यमन्त्री शाक्यले २५ गतेसम्म विश्वासको मत लिनैपर्ने कानुनी बाध्यता छ । १ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ सांसदमात्र छन् । प्रदेशसभाको विश्वास लिन शाक्यले ५५ सांसदको समर्थन जुटाउनुपर्ने छ । तैपनि आफूले विश्वासको मत पाउनेमा विस्वस्त छिन् ।

पछिल्लो समय गठबन्धनमा आन्तरिक खिचलो रहेको भन्दै आफूले विश्वासको मत पाउनेमा शाक्य ढुक्क छिन् । तर, उनले भनेजस्तो मत पाउन सजिलो छैन । बागमती प्रदेश सरकारका प्रवक्ता केशवराज पाण्डेले पनि मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने दाबी गरेका छन् । उनको दावी तर्क पनि त्यस्तै छ । ‘गठबन्धन आन्तरिक किचलोमा रहेकोले हामीलाई गठबन्धनका प्रदेशसभा सदस्यहरुले पनि मत दिन्छन्’ उनको भनाइ छ ।

बागमती प्रदेशसभामा नेपाली कांग्रेसको २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ गरी ५८ सांसद हुन्छन् । यो सरकार गठन गर्न आवश्यक बहुमत हो ।

यस्तै, गठबन्धन बाहिर विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २/२ र एक जना स्वतन्त्र सांसद छन् । यी सबै दलले अष्टलक्ष्मीलाई साथ दिए पनि ५१ जना मात्र पुग्छ । जुन सरकार गठनका लागि अपर्याप्त हुन्छ ।

प्रतिक्रिया