काठमाडौं, २० असोज । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । पहिलो चरणको अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले उनीहरूलाई पाँच दिन थुनामा राख्ने अनुमति दिएको हो ।
सिभिल सहकारीको ७० करोड रकम निक्षेप ठगी गरेको आरोपमा उनीहरूमाथि अहिले ठगी मुद्दामा अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार दोस्रो चरणको अनुसन्धानका लागि पुनः अदालतको अनुमति लिइनेछ । उनीहरूलाई संगठित रूपमा ठगी गरेको आरोप छ । १३७ जनाले जाहेरी दिइसकेको र अन्य मानिसहरू पनि जाहेरी दिन आइरहेको महतोले बताएका छन् ।
तामाङ सिभिल सहकारीका पूर्वअध्यक्ष हुन् । सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठ छन् । उनी पनि पक्राउ परेका छन् ।
पक्राउ परेकाहरूमा भगवानबहादुर सिंह, मायोनानी महर्जन, एलिना तुलाधर, शंकरप्रसाद पाठक, संगीत श्रेष्ठ, राकेश महर्जन, बुद्धराज तामाङ, कौस्तुभ केतन ढुंगाना, विजयविक्रम शाह र हरिहर लामिछाने रहेका छन् । सहकारीको बचतको ठूलो हिस्सा तामाङले अन्य आफ्ना कम्पनीहरूमा लगानी गर्दै आएका थिए ।