अन्तरिक्षमा रुसी फिल्मको छायाँकन, टम क्रुज योजना बनाउँदै
अखबार टुडे
प्रकाशित:
२०७८, २० आश्विन

काठमाडौं, २० असोज । अन्तरिक्षमा फिल्म छायाँकनका लागि रुसी एउटा अन्तरिक्ष टोली इन्टरनेशनल स्पेस स्टेशन आईएसएसमा पुगेको छ । अन्तरिक्षसम्बन्धी एउटा फरक खाले प्रतिस्पर्धामा अमेरिकी टोलीभन्दा अगाडि रुसी टोली त्यहाँ पुगेको बिबिसीले जनाएको छ ।

क्लिम शिपेन्कोले निर्देशन गर्ने फिल्मको प्रमुख भूमिकामा ३७ वर्षीय युलिया पेरेसिल्ड छन् । उनीहरू चढेको सोयुज एमएस १९ अन्तरिक्षयान कजकस्तानको बैकोनुरबाट उडेर तीन घण्टापछि आईएसएसमा पुगेको बताइएको छ ।

अमेरिकी कलाकार टम क्रुज र नासाले पनि त्यहाँ एउटा फिल्म छायाँकन गर्ने योजना बनाइरहेका छन् । यसैबेला मंगलवार रुसी टोली अन्तरिक्षतिर लाग्दा कैयौँ टेलिभिजन क्यामेराहरू पेरेसिल्ड र टाढा बसेर हेरिरहेकी उनकी १२ वर्षीय छोरी आनातिर सोझिएका थिए । रुसको वेबसाइटले ‘वास्तविक नायकहरू अन्तरिक्षमा पुगेको’ लेखेको छ ।

शिपेन्कोको नायिका श्रीमती कार्पुनिनाका अनुसार निर्देशकले अन्तरिक्षमा जानुअघि १५ किलो तौल घटाउनुपरेको थियो । बिबिसीले उल्लेख गरेअनुसार अन्तरिक्षयात्री एन्टोन श्कापलेरोभको नेतृत्वमा योजनाअनुसार नै मस्को समय ११ः५५ मा यान प्रक्षेषण गरिएको थियो । उडेको तीन घण्टापछि सोयुज आईएसएसमा अवतरण गरेको थियो ।

रसकसमस अन्तरिक्ष निकायका प्रमुख दिमित्री जोगोजिनले ट्वीट गर्दै भनेका छन्। ‘योजनाअनुसार नै सबै कार्य सम्पन्न भएको छ ।’ श्कापलेरोभ थप केही दिन अन्तरिक्षमै बस्ने भएपनि निर्देशक र नायिका भने १२ दिनमात्र अन्तरिक्षमा बसेर चलचित्र छायाँकन गर्नेछन् ।

फिल्ममा पेरेसिल्ड एक अन्तरिक्षयात्रीलाई बचाउन पृथ्वीको कक्षमा पठाइएका मुटु चिकित्सकको भूमिकामा छिन् । बिबिसीका अनुसार दुई अन्तरिक्षयात्रीहरू ओलेग नोभिट्स्की र प्योटर डबरभले पनि फिल्ममा अभिनय गर्नेछन् । फिल्मको छायाँकन आईएसएसको रुसी क्षेत्रमा गरिने छ । तर फिल्मको योजनामाथि वादविवाद भइरहेको बताइएको छ ।

प्रतिक्रिया