आफ्ना पूर्वकर्मचारीको बयानमा फेसबुकले के भन्यो ?
अखबार टुडे
प्रकाशित:
२०७८, २० आश्विन

काठमाडौं, २० असोज । फेसबुककी एक पूर्वकर्मचारीले ती प्रविधि कम्पनीका वेबसाइट र एपले बालबालिकालाई हानि पु¥याउने, विभाजनहरूलाई बढाउने र प्रजातन्त्रलाई कमजोर बनाउने बताएकी छिन् ।
फेसबुकमा प्रडक्ट म्यानेजरका रूपमा काम गरेकी ३७ वर्षीया फ्रान्सिस हाउगनले अमेरिकी विधायकहरूसँग यस्तो बताएकी हुन् । उनले कम्पनीका गोप्य कुराहरू बताएकी थिइन् । कम्पनीका वरिष्ठ कर्मचारीहरू मुनाफामा केन्द्रित भएको भन्दै हाउगनले अमेरिकी संसद् रहेको क्यापिटल हिलमा समेत आलोचनात्मक बयान दिएकी थिइन् ।

अहिले फेसबुकलाई नियमन गर्नुपर्ने माग उठिरहेको छ । इन्स्टाग्रामको तर्फबाट गरिएको एक अध्ययनले यी एपले बालिकाको मानसिक स्वास्थ्यमा हानि पु¥याउन सक्ने बताएको छ ।

फेसबुकले के भन्यो?
फेसबुकका संस्थापक मार्क जुकरबर्गले भने पूर्वकर्मचारी हाउगनको भनाइप्रति असहमति जनाउँदै त्यस्तो बयानले कम्पनीको झुटो तस्बिर चित्रित गरेको बताएका छन् ।

कर्मचारीलाई लेखिएको एक पत्रमा उनले ती दाबीको कुनै अर्थ नभएको बताएका छन् । फेसबुकलाई हानिकारक सामग्रीसँग लड्न, पारदर्शिता स्थापित गर्न एक अनुसन्धान कार्यक्रममा जोड दिनुपर्ने औल्याइएको थियो ।

मासिक झन्डै तीन अर्ब सक्रिय प्रयोगकर्ता रहेको फेसबुक विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल हो । त्यस्तै करोडौँ प्रयोगकर्ता यही कम्पनीकै ह्वाट्सएप र इन्स्टाग्रामजस्ता अन्य उत्पादन चलाउँदै आएका छन् । तर फेसबुकले प्रयोगकर्ताका गोपनीयताको संरक्षण गर्न, गलत सूचना रोक्न चाहिँदो काम नगरेको भन्दै आलोचना हुने गरेको छ ।

प्रतिक्रिया