चर्चका पादरीद्वारा २ लाख बढी बालबालिकामाथि यौन दुर्व्यवहार गरेको खुलासा
अखबार टुडे
प्रकाशित:
२०७८, २० आश्विन

पेरिस, २० असोज (एजेन्सी) । फ्रान्सका क्याथोलिक चर्चमा धर्मगुरु, डिकन र अन्य पादरीहरुले ७० वर्षदेखि २ लाख बढी बालबालिकामाथि यौन शोषण तथा दुर्व्यवहार गरेको एक स्वतन्त्र अध्ययनले पत्ता लगाएको छ ।

एक सर्वेक्षणका अनुसार फ्रेन्च पादरीहरुले १९५० देखि २०२० सम्म २ लाख १६ हजार नाबालिगहरुमाथि यौन शोषण गरेको तथ्य खुलासा भएको हो । ती घटनाहरूलाई ‘शून्यताको घुम्टो’ भित्र लुकाइएको २५ सय पृष्ठ लामो अध्ययनले आरोप लगाएको छ ।

मंगलबार सार्वजनिक गरिएको रिपोर्टले रोमन क्याथोलिक चर्च थप दबाबमा परेको छ । विश्वभरबाट चर्चका विभिन्न यौनकाण्डहरु बाहिर आइरहेका छन्, जसमा विशेष गरेर बालबालिकाहरु संलग्न रहेका छन् ।
जाँचबुझ आयोगका प्रमुख जिन र्माक साउभेले फ्रान्समा यौन दुर्व्यवहार ‘प्रणालीगत’ रहेको र यसमा २ हजार ९ सयदेखि ३ हजार २ सय पादरीहरु संलग्न रहेको बताए । पीडितमध्ये ८० प्रतिशत बालकहरू रहेको पनि उनले खुलाए ।

उक्त रिपोर्टलाई सार्वजनिक गर्दै उनले चर्चले पीडितलाई भन्दा आफूलाई बचाउन ‘क्रूर’ उदासीनता देखाएको पनि आरोप लगाए । चर्चले त्यस्ता घटना रोक्न आवश्यक कदम चाल्न असफल रह्यो भने त्यस्ता घटनामा आँखा चिम्लनुका साथै जानाजान बालबालिकाहरुलाई पीडकको सम्पर्कमा पुर्याएको उनले बताए ।

‘यसको परिणाम निकै गम्भीर देखिएको छ,’ साउभेले भने, ‘यौन दुर्व्यवहारमा परेका करिब ६० प्रतिशत पुरुष र महिलाले आफ्नो मानसिक र यौन जीवनमा जटिल समस्या ब्यहोरिरहेका छन् ।’ पोप फ्रान्सिसले पीडितहरु बाहिर आएकोमा धन्यवाद व्यक्त गरेका छन् । भ्याटिकनले एक वक्तव्य जारी गदै यसको मोचनको बाटोमा अघि बढ्ने बताएको छ । –अलजजिरा

प्रतिक्रिया