
विराटनगर, १९ असोज । जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी काण्डमा चुडामणि उप्रेती ‘गोरे’सहित मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई दोषी ठहर गरेको छ । मंगलबार जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले गोरेसहित ६ जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ ।
साढे ३३ किलोग्राम सुन गायब भएपछि तस्कर समूहको यातनाका क्रममा २०७४ फागुन १८ गते मोरङको उर्लाबारी–१ मा सनम शाक्यको हत्या भएको भएको थियो । जिल्ला अदालत मोरङमा सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाको बहस भएको थियो ।
मोरङ उर्लाबारीका सनम शाक्य हत्या र साढे ३३ किलो सुन हराएको विषयमा अनुसन्धान गर्ने क्रममा खुलेको ३८ क्विन्टल सुन तस्करी मुद्दाको सुनुवाइ न्यायाधीश लम्सालको इजलास भएको थियो । उक्त मुद्दामा बेनु श्रेष्ठसमेत ६३ जना, रेवत भन्ने रेवन्तकुमार आचार्य, सम्बिर प्रेतोलोङसमेत २ जना तथा सञ्जय खेतान भन्ने प्रभात अग्रवाललाई विपक्षी बनाइएको छ । उक्त मुद्दामा सनम शाक्यका दाजु सञ्जिव शाक्यको जाहेरीमा सरकारी वकिल कार्यालय पक्ष छ ।
सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४ सय रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५६३ ग्राम (करिब ३८ क्विन्टल) सुन अवैधरूपमा आयात गरिएको दाबी गरिएको छ । प्रहरीले पक्राउ गरेका र अदालतमा आफैं हाजिर भएका ५५ जना मध्ये अधिकांश धरौटीमा छुटेका छन् । उक्त मुद्दाका प्रतिवादीमध्ये २२ जना अझै फरार छन् ।
सो प्रकरणका आरोपी प्रहरी अधिकारीले भने सफाइ पाएका छन् । उक्त काण्डमा आरोपी बनाइएका तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनालले भने सफाइ पाएका छन् ।
त्यस्तै, प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएका छन् ।