फेसबुकमा अहिलेसम्मकै ठूलो अवरोध, समस्या के हो ?
अखबार टुडे
प्रकाशित:
२०७८, १९ आश्विन

काठमाडौं, १९ असोज । विश्वव्यापी रूपमा अवरोध झेलेको झण्डै ६ घण्टापछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामका अर्बौँ प्रयोगकर्ताले पुनः सेवा प्रयोग गर्न पाएको फेसबुकले जनाएको छ । यी तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन्, जसलाई सोमबार करिब ६ घण्टा वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन ।

फेसबुकले त्यसलाई नेटवर्किङसम्बन्धी समस्या बताउँदै त्यसका लागि माफी मागेको छ । उसले ती समस्या सुल्झाउन र आफ्ना डिजिटल मञ्चहरूलाई सामान्य अवस्थामा फर्काउन आफ्ना टोलीहरूले सक्दो छिटो काम गरेको जनाएको छ ।

साइबर सुरक्षा विज्ञहरूले उक्त अवरोध प्रविधिमा देखापरेको आन्तरिक समस्याका कारण सिर्जना भएको हुन सक्ने ठानेपनि त्यो त्यहीँ भित्रकै कसैले सिर्जना गराएको समस्या हुन सक्ने अवस्थालाई सैद्धान्तिक रूपमा सम्भव ठानेका छन् । बाह्य ह्याकिङ भएको सम्भावनाचाहिँ कम ठानिएको छ ।

फेसबुकका प्रमुख प्रविधि अधिकृतले आफ्ना सेवाले ‘१०० प्रतिशत’ काम गर्न भने केही समय लाग्ने बताएका छन् । बीबीसीका उत्तर अमेरिका प्रविधि संवाददाताका अनुसार यसको कारण अझै स्पष्ट भइसकेको छैन ।

केही मानिसहरूले फेसबुकको भर्चुअल रियालिटी हेडसेट प्लेटफर्म अक्युलुस र फेसबुक लगइन चाहिने पोकेमोन गो सहितका एपहरूमा समेत सेवा प्रभावित भएको भनेर उजुरी गरेका थिए ।

यस्ता अवरोधको विवरण राख्ने डाउनडिटेक्टरका अनुसार यो त्यसले देखेको अहिलेसम्मकै ठूलो अवरोध हो । जसबारे विश्वभरिबाट १ करोड ६ लाख मानिसले उजुरी दिएका थिए ।

बिबिसीका अनुसार यो तहको अवरोध फेसबुकले यसअघि सन् २०१९ मा झेलेको थियो जतिखेर १४ घण्टाभन्दा लामो समय अवरोध देखापरेको थियो । फेसबुकबारेका दस्तावेजहरू चुहाएकी उक्त कम्पनीकी एक पूर्वकर्मचारीको एक अन्तर्वार्ता आएको एकदिनपछि यस्तो अवरोध देखिएको हो । पछिल्लो अवरोधसँगै न्यूयोर्कमा सेअरको मूल्य झण्डै पाँच प्रतिशतले खस्किएको छ ।

प्रतिक्रिया