श्री एयरलाइन्सको जहाज घाँसे मैदानमा धसिएपछि…
प्रकाशित:
२०७८, १९ आश्विन
काठमाडौं, १९ असोज । श्री एयरलाइन्सको जहाज पार्किङ क्षेत्रबाट धावनमार्गतर्फ जाने क्रममा घाँसे मैदानमा धसिएको छ । 9NANF Call sign भएको क्यू४००–८ जहाजमा ७६ जना यात्रु नेपालगञ्ज जान लागेका थिए । उनीहरुलाई जहाजबाट ओरालिएपछि विमानस्थलका कर्मचारीहरुले गल, गैंती लगायतका उपकरण प्रयोग गरी धसिएको पाङ्ग्रालाई माथि उठाएर बाहिर निकाल्ने प्रयासमा जुटेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार सो जहाज मंगलबार बिहान ९ बजेर ३३ मिनेटमा धावनमार्गमा जाने क्रममा पार्किङ क्षेत्रमै एउटा चक्का घाँस क्षेत्रमा फसेको थियो । सो जहाजका यात्रुलाई अर्को जहाजमा पठाउने पठाइएको छ । विमानमा चालक दलका चार सदस्यसहित ८० जना रहेको सो जहाजमा कुनै क्षति भएको छैन । सो जहाज धावनमार्गमा नभएकाले उडान भने सञ्चालन भइरहेको छ ।
प्रतिक्रिया