फेसबुक बन्द हुँदा जुकरबर्गले ६ अर्ब डलर गुमाए
अखबार टुडे
प्रकाशित:
२०७८, १९ आश्विन

काठमाडौं, १९ असोज । झन्डै ६ घन्टापछि फेसबुकले प्राविधिक समस्या समाधान भएको र आफ्ना सबै सामाजिक सञ्जाल साइट÷एपले काम गर्न थालेको जनाएको छ ।
फेसबुकले त्यसलाई नेटवर्किङसम्बन्धी समस्या बताउँदै त्यसका लागि माफी मागेको छ ।
नेपाली समयअनुसार सोमबार राति संसारभरि विभिन्न मुलुकका सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुकसँगै इन्स्टाग्राम, ह्वाट्सएप, मेसेन्जर र ओकुलसले काम गर्न छाडेपछि प्रयोगकर्ताले चलाउन् पाएका थिएनन् । यो क्रम लगभग छ घन्टा चल्यो ।
सो अवधिमा फेसबुकका सिइओ मार्क जुकरबर्गले भने ६ अर्बभन्दा बढी अमेरिकी डलर गुमाएका छन् । ब्लुमबर्गका अनुसार सोमबार फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ । मध्य सेप्टेम्बरयता मात्रै फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओह्रालो लागेको छ ।
सेयरको मूल्य घटेसँगै जुकरबर्गको सम्पत्ति पनि घटेको छ । ब्लुमबर्ग बिलिनियर्स इन्डेक्समा उनी पाँचौं नम्बरमा झरेका छन् । यसअघि उनीभन्दा पछि रहेका बिल गेट्सले जुकरबर्गलाई पछि पारेका छन् ।
यसअघि सेप्टेम्बर १३ मा अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले फेसबुकको प्रणालीमा समस्या रहेको स्टोरीहरू प्रकाशित गरेको थियो । सोमबार फेसबुकमा समस्या नै देखिएपछि यो विषयले अमेरिकी सरकारी अधिकारीको ध्यान तानेको छ ।

प्रतिक्रिया