बलिउड फिल्म ‘उचाइ’को टिम काठमाडौंमा, सुटिङका लागि मुस्ताङ जाँदै
अखबार टुडे
प्रकाशित:
२०७८, १८ आश्विन

काठमाडौं, १९ असोज । बलिउडका केही कलाकार काठमाडौं आएका छन् । बलिउड फिल्म ‘उचाई’को छायाँकनका लागि अभिनेता अनुपम खेर, बोमन इरानी, अभिनेत्री परिणिती चोपडालगायतका टिम सोमबार काठमाडौँ आइपुगेका हुन् ।

नेपाल पर्यटन बोर्डका अनुसार बलिउड कलाकारको टोलीले फिल्म ‘उचाइ’को सुटिङ मुस्ताङ लगायतका क्षेत्रमा गर्दैछन् । यस फिल्मको १० प्रतिशत सुटिङ नेपालमा गर्ने टिमको योजना रहेको छ । अघिल्लो वर्ष नै फिल्म छायाँकन गर्ने भनिएपनि कोभिडका कारण रोकिएको भारतीय मिडियाले यसअघि नै जनाएका थिए ।

फिल्म टोली काठमाडौं आएपनि सुटिङ स्थलतर्फ कहिले प्रस्थान गर्छ भन्नेमा केही खुलाइएको छैन । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्म मुस्ताङका विभिन्न स्थानमा छायाँकन गर्ने कार्यक्रम रहेको छ । फिल्म छायाँकनका लागि स्थल अवलोकन गर्न निर्माता निर्देशक सुरज बडाजात्याको टोली भदौ अन्तिमतिर मुस्ताङ पुगेको थियो । यसैबीच अभिनेता अनुपम खेरले लामो समयपछि काठमाडौं आउने मौका मिलेको खुसी लागेको भन्दै ट्वीट गरेका छन् ।

प्रतिक्रिया