इटहरी, १८ असोज । इटहरीमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । इटहरी उपमहानगरपालिका ८ भुर्कीमा ३० वर्षीया महिलामाथि असोज १५ गते साँझ ६ जना पुरुषले कुटपिट गरी सामूहिक बलात्कार गरेका हुन् ।
कुटपिटपछि धान खेतमा लगेर उनीमाथि सामूहिक बलात्कार भएको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए । बलात्कारपछि ती महिलाको दुई तोला चार आनाको सुनको सिक्री र नगद तीन हजार लुटपाट भएको उनले बताए ।
इभिनिङ वाकमा घरदेखि केही पर पुगेकी ३० वर्षीय महिलालाई समूहमा रहेका पुरुषहरूले आक्रमण गरेका थिए । पीडितको अनुहार र शरीरका विभिन्न भागमा चोटपटक देखिएको प्रहरीले जनाएको छ ।
पीडित महिलाको उजुरीको आधारमा प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये चार जना नाबालक १८ वर्ष मुनिका छन् । अर्का एक जना भने फरार रहेको थापाले बताए ।
पक्राउ परेका सबैलाई जबरजस्ती करणी कसुरमा अनुसन्धान अघि बढाइएको उनले बताए । पक्राउ परेकामध्ये इटहरी–१४का २७ वर्षीय सुनिल चौधरीलाई प्रहरीले सार्वजनिक गरेको छ ।