काठमाडौं, १८ असोज । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेल श्रीलंकासँग खेल्दैछ । सोमबार मालेस्थित नेशनल फुटबल स्टेडियममा नेपाली समयअनुसा राति ९ः४५ बजे खेल सुरु हुनेछ ।
यसअघि पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १–० ले हराएर नेपालले विजयी सुरुआत गरेको थियो । श्रीलंकाविरुद्ध पनि त्यही नतिजालाई कायम राख्दै सुखद नतिजा ल्याउने नेपालको लक्ष्य छ । श्रीलंका भने उद्घाटन खेलमा बंगलादेशसंग १–० ले नै पारजित भएको थियो । त्यसैले नेपालविरुद्ध उनीहरु सकरात्मक नतिजा निकाल्नका लागि खेल्दैछ ।
आइतबार प्रिम्याच कन्फ्रेन्समा बोल्दै नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले माल्दिभ्सविरुद्धको खेल बिर्सेर श्रीलंकाविरुद्ध खेल्नुपर्ने र सहज रुपमा नलिने पनि बताएका छन् । श्रीलंकालाई हराउन ९० मिनेट राम्रो खेल्नुपर्ने र जित्ने लक्ष्यका साथ खेल्नुपर्ने बताए ।
पाँच राष्ट्र सहभागी साफमा राउण्ड रोविन प्रणालीमा भइरहेकोले हरेक खेल महत्वपूर्ण रहेको छ ।