
काठमाडौं, १७ असोज । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहलाई बनाउने निर्णय पार्टीले गरेको छ । अध्यक्षका लागि ६ जना प्रतिस्पर्धीबीच सहमति नजुटेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।
यसअघि अध्यक्षका सुरेन्द्र बस्नेत, पञ्चा सिंह, विजय गौतम, उत्तम अधिकारी, दिपेश पुन र तिलकराम भण्डारीलगायत प्रतिस्पर्धी थिए । अन्तिम अवस्थामा बस्नेत र सिंहबीच सहमति नभएपछि अध्यक्ष प्रचण्डले खुमलटार बोलाएर महिलालाई अघि बढाउँ भन्दै पञ्चा सिंहलाई अखिलको अध्यक्ष बनाउने निर्णय गरेका हुन् ।
अब २२ औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रबाट पञ्चा सिंह अखिल क्रान्तिकारी अध्यक्ष बनेको औपचारिक घोषणा हुने छ । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।
यसअघि अध्यक्षका दाबेदारहरूबीच सहमति नभएपछि अखिल क्रान्तिकारीको अध्यक्ष चयन गर्ने जिम्मा प्रचण्डलाई दिइएको थियो । पञ्चा अध्यक्ष र दिपेश पुनलाई महासचिव बनाएर अन्य अध्यक्षका प्रत्याशीलाई पार्टीमा २० प्रतिशत ४० वर्षमुनिका युवालाई समेट्ने नीतिअनुसार केन्द्रीय सदस्य बनाइने आश्वासन दिइएको छ ।