जापानी राजकुमारीद्वारा सर्वसाधारण प्रेमीसँग विवाह गर्न शाही हैसियत त्याग्ने घोषणा
अखबार टुडे
प्रकाशित:
२०७८, १६ आश्विन

काठमाडौं, १६ असोज । जापानी राजकुमारी माकोले सर्वसाधारण नागरिकसँग विवाह गर्नका लागि शाही हैसियत त्याग्ने घोषणा गरेकी छन् । यो प्रेम सम्बन्ध विवादित बने पनि उनले पूर्वसहपाठी समेत रहेका आफ्ना प्रेमीसँग यही महिना विवाह गर्ने तयारी गरेकी छन् ।

जापानको राजपरिवार इम्पेरियल हाउसहोल्ड एजेन्सीले अक्टोबर २६ मा उनीहरूको विवाह तय भएको जनाएको छ । बिबिसीले जनाएअनुसार उनीहरूबीच सन् २०१८ मै विवाह तय भएपनि राजकुमारीसँग विवाह गर्न लागेका कोमुरोको परिवारमा आएको भनिएको आर्थिक सङ्कटका कारण विवाह सारिएको थियो ।

विवाहपछि नवदम्पती अमेरिकामा बस्ने बताइएको छ । उनका प्रेमी केइ कोमुरो अमेरिकामा कानुन व्यवसायीको काम गर्दै आएका छन् । स्थानीय सञ्चार माध्यममा यो जोडीबारे धेरै समाचारहरू आएका थिए । राजकुमार फुहिमितो र कोमुरोको परिवारलाई जोडेर पछिल्ला वर्षहरूमा आएका समाचारले राजकुमारी माको मानसिक आघातको सिकार भएको इम्पेरियल हाउसहोल्ड एजेन्सीलाई उद्धृत गर्दै समाचार संस्था क्योदोले जनाएको छ ।

राजकुमारीको जोडीबीच सन् २०१२ मा टोकियोको एक अन्तर्राष्ट्रिय क्रिश्चियन विश्वविद्यालयमा भेट भएको थियो । सन् २०१७ ‘इन्गेजमेन्ट’ गरेको यो जोडीले त्यसको एक वर्षपछि विवाह गर्ने तय गरेको थियो । तर, त्यही बीचमा कोमुरोकी आमाले एक जनासँग लिएको ऋण नतिरेको र उनको परिवार आर्थिक समस्यामा रहेको समाचारहरू बाहिर आए । तर, दरबारले विवाह स्थगित हुनुमा त्यो कारण नभएको बताउँदै आएको छ । यद्यपि राजकुमार फुहिमितोले उनीहरूको विवाह अघि आर्थिक विषयहरू सल्टाउनु पनि महत्वपूर्ण रहेको बताएको बिबिसीले जनाएको छ ।

राजकुमारी माकोले जापानमा परिवारबाट छुट्टिने शाही सदस्यले पाउने १३ लाख अमेरिकी डलरसमेत त्याग गर्ने बताइएको छ । उनले परम्परागत शैलीको शाही विवाहसमेत नगर्ने अपेक्षा गरिएको छ । दुवै सुविधा त्याग गरेको अवस्थामा उनी दुवै सुविधा त्याग गर्ने पहिलो राजपरिवार सदस्य बन्नेछिन् ।

प्रतिक्रिया