महासचिव भुसालले भने, ‘हाम्रो पार्टीले जिउँदो नेताको तस्वीरमा माला लगाउँदैन’
अखबार टुडे
प्रकाशित:
२०७८, १६ आश्विन

काठमाडौं, १६ असोज । नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले नेकपा एमालेमा फस्टाएको व्यक्तिवादी चरित्रलाई पछार्न नसकेपछि विद्रोह गरेर नयाँ पार्टी स्थापना गरेको बताएका छन् ।

शनिबार नेकपा एकीकृत समाजवादीको भक्तपुर जिल्ला कार्यालयको उद्घाटन तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीमा विद्रोह गर्नुपरेको स्पष्टिकरण दिएका हुन् । अब समाजवादी क्रान्तिको युग सुरु भएको समेत उनले बताए ।

आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई नछाडेको बताउँदै उनले जबज हुबहु आत्मासात गर्नुपर्ने आवश्यकता नभएकाले यसको मुलभूत अवधारणालाई मात्रै आत्मासात गरेर जाने पनि बताए ।

नेकपा समाजवादीको समाजवादको दृष्टिकोण फरक रहेको भन्दै उनले श्रमजीवी जनताको पक्षमा जनतालाई सर्वोपरि राख्दै समाजवादको यात्रामा अगाडि बढेको उनको भनाइ छ । नेताको होइन, नीतिको पक्षमा लाग्न कार्यकर्तालाई आह्वान गर्दै महासचिव भुसालले भने, ‘हाम्रो पार्टीले जिउँदो नेताको तस्वीरमा माला लगाउँदैन, मञ्चमा बसेर खादा र माला ओढ्दैन, नेता होइन, नीति मान्छ, व्यक्ति होइन, विचार मान्छ ।’

नेमकिपाले विचारलाई व्यक्तिवादी बनाउँदा भक्तपुरको एउटा नगरपालिकामा सीमित भएको भन्दै उनले अब आफ्नो पार्टी नीतिमा युवाको नेतृत्वमा अगाडि बढ्ने बताए ।

प्रतिक्रिया