पार्टीलाई अघि बढाउन सक्ने अरु भए म किताब लेखेर बस्थेँ : प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७८, १४ आश्विन

काठमाडौं, १४ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्ति र रुपान्तरणका लागि ठूलै छलाङ मार्नुपर्ने अवस्था आएको बताएका छन् ।

बिहीबार अखिल क्रान्तिकारीको २२औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिका लागि सानोतिनो सुधारले मात्रै नहुने बताउँदै भने, ‘समाजवादी क्रान्तिको निम्ति नयाँ रुपान्तरण र सानोतिनो सुधारको तरिकाले हुँदैन । राम्रै छलाङ हान्नुपर्ने स्थिति छ ।’ उनले विद्यार्थीहरुको यो सम्मेलन त्यो दिशातिर जाने पाइला हुनसक्ने आश्वासन दिँदै विचारको राजनीतिलाई विकसित गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।

आँट गर्दा, बल गर्दा परिवर्तन सम्भव भएको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘हामी नभएपनि अर्कोले गर्छ भनेर सन्तोष गर्ने स्थिति छैन ।’ उनले अरुले गरे प्रतिक्रान्ति गर्ने र देश दुर्घटनामा पर्ने दावी गर्दै भने, ‘अहिले प्रतिगमनका पक्षपाती केपी ओली आतंक आतंक छ । जसले गणतन्त्र रोक्न पहल गर्यो त्यसको पो आतंक छ, के यो अचम्म भयो ?’

अध्यक्ष प्रचण्डले राप्रपाका अध्यक्ष कमल थापाको समेत अहिले आतंक रहेको बताउँदै भने, ‘कमल थापा आतंक, कहाँबाट कहाँ पुगेकाहरुको आतंक छ । अनि हामीलाई टुक्रा टुक्रा पार्यौ भनेर उनीहरु दंग परेका छन् ।’ उनले आलोचकले माओवादीलाई धेरै पटक सिद्धिए भनेपनि नसिद्दिएको बताउँदै पार्टीलाई अघि बढाउन सक्ने कोही भए आफू बसेर किताब लेख्ने भएपनि त्यसरी गर्ने कोही नभएको बताए ।

प्रतिक्रिया