
प्योङयाङ, १३ असोज । उत्तर कोरियाले मंगलबार प्रक्षेपण गरेको क्षेप्यास्त्र नायँ प्रविधिको रहेको साथै हालसालै निर्माण भएको त्यहाँको सरकारी मिडियाले जनाएको छ । सो क्षेप्यास्त्र उत्तर कोरियाको एकेडेमी अफ डिफेन्स साइन्स्ले हालै मात्र निर्माण गरेको केसिएनएले जनाएको छ ।
उत्तर कोरियाको ‘ह्वासङ–८’ नामको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको दाबी त्याहाँको सरकारी मिडियाले जनाएको हो । यस हाइपसरसोनिक मिसाइलले उत्तर कोरियाको रक्षा क्षमतालाई अभिवृद्धि गर्ने कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएको छ ।
विगत पाँच वर्षमा गरिएको हतियार परीक्षणमा यो निकै महत्वपूर्ण भएको दाबी पनि उत्तर कोरियाले गरेको छ । गएको जनवरीमा नै उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले हाइपरसोनिक मिसाइलका लागि वैज्ञानिकहरुले काम गरिरहेको जनाकारी दिएका थिए ।
हाइपरसोनिक क्षेप्यास्त्र के हो ?
साधारण क्षेप्यास्त्र भन्दा हाइपरसोनिक क्षेप्यास्त्रले तीव्र र थप लक्ष्य भेदन गर्न सक्ने क्षमताका हुने भएकाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट रोक्न कठिन हुने समाचार संस्था एएफपीले जनाएको छ । परीक्षणबाट यो ‘क्षेप्यास्त्रको गन्तव्यमा नियन्त्रण स्थिरता’ को पुष्टि गरेको कोरियन सेन्ट्रल न्यूज एजेन्सीले उल्लेख गरेको छ ।
उत्तर कोरिया विश्लेषक अङ्कित पान्डा अहिले नै उक्त क्षेप्यास्त्रको क्षमताबारे विस्तृत विवरणहरू पाउन कठिन भएको बताउँछन् । उनका अनुसार यसले परम्परागत प्रविधिमा आधारित क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको निम्ति नयाँ चुनौती खडा गरेको अनुमान गर्न सकिन्छ ।
पान्डाले नयाँ हतियारमा पहिलो पटक सानो भाँडोबाट क्षेप्यास्त्रमा इन्धन भर्ने प्रविधि प्रयोग भएको देखिएको उल्लेख गर्दै यसलाई ‘महत्त्वपूर्ण कोशे ढुङ्गा’ भनेका छन् ।
कोरिया टाइम्सका अनुसार इन्धन लागि प्रयोग भएको नयाँ प्रविधिले क्षेप्यास्त्र प्रहार गर्न लाग्ने समय निकै कम गर्नुका साथै हतियारलाई जुनसुकै समयमा पनि प्रहारका लागि तयार राख्न मद्दत गर्ने उल्लेख गरेको छ । पान्डा उत्तर कोरियाली लामो दूरीका क्षेप्यास्त्रहरूलाई यसले बढी प्रभावकारी बनाउने बताउँछन् ।
