अन्ततः नरगिस बोलिन्, ‘हो हामी पाँच वर्षदेखि डेट गरिरहेका छौँ’
अखबार टुडे
प्रकाशित:
२०७८, १३ आश्विन

काठमाडौं, १३ असोज । भारतीय अभिनेत्री नरगिस फखरी र अभिनेता उदय चोपडा झण्डै पाँच वर्षदेखि प्रेम सम्बन्धमा छन् । तर, उनीहरु आफ्नो प्रेमबारे खाशै खुलेका थिएनन् ।

सन् २०११ मा रिलिज भएको फिल्म ‘रकस्टार’ पछि चर्चामा आएकी नरगिसले त्यसलगत्तै ‘किक’, ‘हाउसफूल–३’ मा अभिनय गरिन् । उनले त्यसपछि पनि केही सफल फिल्ममा अभिनय गरिन् । बलिउडमा भर्खरै आफ्नो करियर सुरु गरेको बेला उनी र ‘धुम’ फिल्मका अभिनेता उदय चोपडाबीचको प्रेम सम्बन्धबारे हल्ला फैलिएको थियो । तर, नरगिसले पटक–पटक त्यसलाई अस्वीकार गरेकी थिइन् ।

तर, हालै आएर नरगिसले उदयसँगको सम्बन्धबारे खुलेर बोलेकी छन् । सन् २०१४ देखि नरगिस र उदयको सम्बन्धबारे धेरै हल्ला हुन थालेको तर त्यसबेला उनीहरु दुवैले सो हल्ला झुटो रहेको बताएका थिए । त्यो बेला नरगिसले एक अन्तार्वातामा उदय आफ्नो राम्रो साथीमात्र भएको बताएकी थिइन् । अहिले भने उनले उदयसँग आफू पाँच वर्षदेखि प्रेममा रहेको कुरा सार्वजनिक गरेकी छन् ।

‘उदय र म पाँच वर्षदेखि एकअर्कालाई डेट गरिरहेका छौँ । उनी मैले भारतमा भेटेको सबैभन्दा राम्रो मानिसमध्ये पर्छन्,’ नरगिसले टाइम्स अफ इन्डियासँग कुरा भनिन्, ‘पहिले मैले यो कुरा मिडियाको अगाडि सार्वजनिक नगर्नुको कारण अरुले मलाई हाम्रो सम्बन्ध गुपचुप राख्न बताएका थिए । तर, अहिले मलाई पछुतो लाग्छ । मैले सबैलाई आफू उदयसँग प्रेममा रहेको कुरा चिच्चाएर भन्नुपर्ने रहेछ, किनकि उनी निकै राम्रो मान्छे हुन् ।’

पाँच वर्ष अगाडि उदय र नरगिसलाई उनीहरुको प्रेम सम्बन्धको हल्लाबारे प्रश्न गर्दा उनले भनेकी थिइन्, ‘उदय र म डेट गरिरहेका छैनौँं, तर उनी सधैं मेरो जीवनको हिस्सा हुनेछन् ।’

प्रतिक्रिया