काठमाडौं, १३ असोज । केही दिनयता ओरालो झर्दै गरेको सेयर बजारको परिसूचक नेप्से बुधबार ५०.५८ अंकले बढेको छ । अंकको वृद्धिपछि परिसूचक २६६५ अंकमा कायम भएको छ । आज परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ ।
मंगलबार ५ अर्ब ७४ करोड रुपैयाँको सेयर किनबेच भएकोमा बुधबार ५ अर्ब २ करोडमा सीमित भएको छ । यस दिन ९८ लाख ९४ हजार कित्ता धितोपत्र कारोबार भयो ।
बैंकिङ २०, विकास बैंक १५०, फाइनान्स १०७, होटल तथा पर्यटन ३२, जलविद्युत ११७, लगानी २, जीवन बीमा २१५ र उत्पादन समूह १०३ अंकले बढेको छ । त्यस्तै माइक्रोफाइनान्स समूह ८८, निर्जीवन बीमा २५५, अन्य ४१ र ब्यापार समूह ७५ अंकले बढेका छन् । यस दिन कुल १७३ कम्पनीको मूल्य बढ्यो भने ११ कम्पनीको मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको मूल्य स्थिर रह्यो ।
धेरै मूल्य कमाउनेमा अपि पावर र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ता अगाडि रहेका छन् । ती कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । मनकामना स्मार्ट लघुवित्त, युनाइटेड इदी मर्दी र कालिका पावरको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढ्यो ।
यस दिन मेगा बैंकको मूल्य सबैभन्दा धेरै ३.९ प्रतिशतले घटेको छ। मेगाको मूल्य प्रतिकित्ता ३४२ रुपैयाँ कायम भएको छ । त्यस्तै युनिलिभर नेपालको मूल्य ३.८ प्रतिशतले घटेर प्रतिकित्ता १८ हजार ८ सय रुपैयाँ कायम भयो ।
कारोबारका आधारमा पनि आज अपि पावर अग्रस्थानमा रह्यो । सो कम्पनीको २२ करोड ६७ लाख रुपैयाँको सेयर किनबेच भएको छ भने हिमालयन डिस्टिलरी, नेपाल बैंक, युनाइटेड मोदी हाइड्रोपावर, आइसिएफसी फाइनान्स पनि कारोबारका आधारमा अगाडि रहेका छन् ।