भ्वाइस विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक
अखबार टुडे
प्रकाशित:
२०७८, १३ आश्विन

काठमाडौं, १३ असोज । गृह मन्त्रालयले ‘द भ्वाइस अफ नेपाल’का विजेता गायक किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाएको छ । अमेरिकी नागरिक पर्यटन भिषामा १८० दिनमात्र बस्न पाउने प्रावधानअनुसार उनलाई यो वर्ष नेपाल प्रवेशमा गृहमन्त्रालयले रोक लगाएको हो ।

गायक गजमेरले नेपाल बस्न पाउने अवधि गुजारी सकेकाले अध्यागमनले उनलाई नेपाल प्रवेशमा रोक लगाएको हो । गजमेर सन् २०२१ भर नेपाल आउन पाउँदैनन् उनले सन् २०२१ मा नेपाल बस्न पाउने अवधि गुजारिसकेका छन् ।

अब गजमेर सन् २०२२ मा मात्र नेपाल प्रवेश गर्न पाउनेछन् । उनी गत सोमबार नेपाल आएका थिए । तर, सोहीदिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले त्यहीबाट अमेरिका फिर्ता पठाइदिएको थियो।

‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणमा गजमेरलाई दर्शकहरुले सर्वाधिक रुचाएका थिए। भुटानबाट विस्थापित भएपछि गजमेर परिवारसहित झापाको शरणार्थी शिविरमा बस्दै आएका थिए । संयुक्त राष्ट्रसंघले भुटानी शरणार्थीका लागि तेस्रो मुलुक पुर्नवास कार्यक्रम सुरु गरेपछि गजमेर अमेरिका गएका थिए ।

सन् २००६ बाट राष्ट्रसंघले भुटानी शरणार्थीलाई अमेरिकामा पुर्नवास गराउन थालेको थियो । गजमेर सन् २०११ मा परिवारसहित अमेरिका गएका हुन । त्यसपछि उनले अमेरिकाको राहदानी प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रिया