
काठमाडौं, १३ असोज । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको र आउँदो वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाइसक्ने बताएका छन् ।
विश्व मुटु दिवसको अवसरमा बुधवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘झन्डै तीन महिनाको अवधिमा एक करोड थप खोप लगाइ सकिएको जानकारी गराउन चाहन्छु । किनभने हामीले एक करोेड ७७ लाख खोप ल्याइसकेका छौँ । यो दशैँसम्म ३३ प्रतिशत नागरिकलाई खोप लगाइसक्ने जानकारी पनि गराउन चाहन्छु । अहिले दिनमा तीन लाख जनतालाई खोप लगाएका छौँ । अग्रपङ्क्तिमा खटिएकाहरूलाई खोपमा उच्च प्राथमिकता दिइएको छ । १४ वटा हिमाली जिल्लामा १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियानलाई सुरु गरिएको छ । बालबालिकाहरूका लागि पनि एक करोड खोपको सुनिश्चित गरिएको छ ।’
राज्यमन्त्री श्रेष्ठले मुटु रोग, क्यान्सरजस्ता दीर्घ रोगहरूको उपचार निःशुल्क रूपमा गर्ने गरी सरकारी अस्पतालहरूको सुधार गर्न सरकार लागिपरेको बताए ।