
काठमाडौं, १२ असोज । नेकपा एमालेका करिब १९ प्रतिशत सांसद लिएर विभाजित भएको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी प्रदेशमा ठूलो देखिएपनि स्थानीय तहमा कमजोर देखिएको छ । एमालेबाट स्थानीय तहमा निर्वाचित १० प्रतिशत जनप्रतिनिधिलाई मात्रै आफ्नो पक्षमा ल्याउन एकीकृत समाजवादी सफल देखिएको छ ।
सोमबार निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार नेकपा एमालेका २३३ प्रदेशसभा सदस्यको २३ प्रतिशत सांसदले एकीकृत समाजवादी रोजेका छन् । ‘नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिमध्ये १,५०१ जनाले एकीकृत समाजवादी रोजेका छन् । त्यसमा कति प्रमुख, उपप्रमुख वा अन्य पदाधिकारी छन् भन्नेचाहिँ छुट्टाउन बाँकी नै छ’ निर्वाचन आयोगका सहायक प्रवक्ता कोमल धमलाले बीबीसीसँग भनेका छन् ।

विसं २०७४ सालमा तीन चरणमा ३५,००० बढी जनप्रतिनिधिका लागि भएको स्थानीय तहको निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको एमालेबाट १४,७०० उम्मेदवार निर्वाचित भएका थिए।
स्थानीय तहमा नेकपा एमालेले सबैभन्दा बढी ४२ प्रतिशत मत पाएको थियो । एमाले उम्मेदवारले २९४ स्थानीय निकायमा प्रमुख पदमा जित हासिल गरेका थिए । दोस्रो भएको कांग्रेसले करिब ३२ प्रतिशत मत पाएको थियो । कांग्रेसका उम्मेदवार २६६ स्थानीय तहमा प्रमुख पदमा निर्वाचित भएका थिए ।
नेकपा एमाले विभाजित भएपछि प्रदेश र स्थानीय तहमा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई निर्वाचन आयोगले आफ्नो दल रोज्न दिएको २१ दिनको समय सीमा गत महिना सकिएको थियो ।
आयोगले एकीकृत समाजवादीमा जान चाहने एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर जानकारी गराउन भनेको थियो ।
संघीय संसद्मा नेकपा एमालेका १५४ सांसदमध्ये २९ जना एकीकृत समाजवादीमा गएका थिए । अझै केही सांसदहरूले एकीकृत समाजवादीमा जान सर्वोच्च अदालतमा दिएको निवेदन विचाराधीन छ । एमालेका ५४ प्रदेशसभा सदस्यले समाजवादी चयन गरेपछि अब एमालेमा १७९ प्रदेशसभा सदस्य बाँकी छन् ।
विभाजनपछि पनि धेरै स्थानमा पहिलो दलको हैसियत कायम राख्न सफल एमाले सुदूरपश्चिम प्रदेशमा भने चौथो दल बनेको छ । नवगठित एकीकृत समाजवादी यो प्रदेशमा १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ ।
सुदूरपश्चिम प्रदेशमा १३ सांसदसहित नेकपा माओवादी केन्द्र दोस्रो, १२ सांसद भएको कांग्रेस तेस्रो भएको छ भने सभामुखसहित ११ सांसद कायम रहँदा एमाले चौथो स्थानमा छ । एकीकृत समाजवादी प्रदेश २ मा पनि एमालेभन्दा ठूलो भएको छ ।
प्रदेश २ मा १३ सांसदले समाजवादी चयन गरेका छन् भने आठ जनाले एमालेमा रहने निर्णय गरेका छन् । गण्डकी प्रदेशमा एक जना पनि सांसद एमाले छोड्न तयार नभएपछि यो प्रदेशसभामा समाजवादी दलको उपस्थिति नै शून्य भएको छ । लुम्बिनी प्रदेशमा पनि एक जनामात्रै सांसदले समाजवादी दल रोजेका छन् ।
–बिबिसी नेपालीबाट