दल विभाजनसम्बन्धी अध्यादेश खारेज, मन्त्रिपरिषद् विस्तारको बाटो खुल्यो
अखबार टुडे
प्रकाशित:
२०७८, ११ आश्विन

काठमाडौं, ११ असोज । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश खारेज गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेलगत्तै अध्यादेश खारेज भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको सिफारिसमा सोमबार साँझ राष्ट्रपति भण्डारीले राजनीतिक अध्यादेश खारेज गरेकी हुन् । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ११४ को उपधारा २ को खण्ड ‘ख’बमोजिम अध्यादेश खारेज गरिएको जानकारी दिएको छ ।

विज्ञप्तिमा भनिएको छः ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को असोज ११ को निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा २ को खण्ड ख बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नुभएको छ ।’

अध्यादेशकै आधारमा नेकपा एमालेबाट विभाजित नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी र जसपा नेता महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भइसकेको छ ।

अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । अध्यादेश कायमै रहँदा मन्त्री नपाएकाहरुले पार्टी विभाजन गर्ने खतरा रहेको भन्दै जसपाले अध्यादेश फिर्ता भएपछि मात्र आफ्नो तर्फबाट मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाउने अडान लिँदै आएको थियो ।

अध्यादेश खारेज भएसँगै पुनः दल विभाजनको खतरा टरेको छ । अधयादेश खारेजीसँगै भोली नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । सम्भवतः मंगलबार नै मन्त्रिपरिषदले पूर्णता पाउने छ ।

प्रतिक्रिया