काठमाडौं, ११ असोज । इन्टरनेट सर्च इन्जिन गुगलले २३औँ वर्षगाँठ मनाएको छ । आजभन्दा २३ वर्षअघि पिएचडीका दुई विद्यार्थीले ‘भिमकाय सर्च इन्जिन’ गुगल बनाउने सोच बनाएका थिए । उनीहरूको सो परियोजना अन्ततः विश्वकै सबैभन्दा ठूलो सर्च इन्जिन बन्न पुगेको छ । गुगल स्थापना भएको २३ वर्ष गुगलले डुडल केकसँगै मनाएको छ ।
‘गुगलमा हरेक दिन विश्वभर १५० भाषामा अर्बौं सर्च हुने गर्छन् र गुगलका सुरुवाती दिनभन्दा अहिले धेरै परिवर्तन भएको छ’ गुगलले डुडलसहितको बायोमा लेखेको छ, ‘सुरुमा टोय ब्लकबाट बनेको क्याबिनेटमा पहिलो सर्भर थियो भने अहिले यसका सर्भर २० भन्दा बढी डाटा सेन्टरमा छन् र सबैका लागि विश्वको सूचनामा पहुँच दिने यसको मिसन भने उही छ ।’
गुगलका संस्थापक
गुगलका संस्थापक हुन् लरेन्स पेज र सर्गेइ ब्रिन । उनीहरुबीच पहिलोपटक स्टानफोर्ड विश्वविद्यालयको कम्प्युटर साइन्स विभागमा भेट भएको थियो । त्यतिबेला पेज २२ वर्षका र ब्रिन २१ वर्षका थिए । पहिलो भेटदेखि नै उनीहरूबीच हरेक कुरामा विवाद वा असहमति हुने गर्दथ्यो ।
पेज मिचिगन विश्वविद्यालयबाट ग्र्याजुएशन गरेपछि स्टानफोर्डमा पिएचडी पढ्न आएका थिए । पिएचडी पढ्न आएका ब्रिनले उनलाई क्याम्पस वरपर गुमाएका थिए । यो कुरा सन् १९९५ को हो । १९९५ सकिएसँगै १९९६ आयो र पेज र ब्रिनबीच एउटा यस्तो साझेदारी बन्यो जसले इतिहासको दिशा र गति नै बदलिदियो ।
पेज र ब्रिन मिलेर ब्याकरब विकास गरे । ब्याकरब भनेको एउटा यस्तो अल्गोरिदम हो जसले वेबमा गएर यसको गणितीय सोपानक्रम थाहा पाउन सकिन्छ र वेब पेजतर्फ लक्षित लिङ्कका आधारमा पेजको श्रेणी निर्धारण हुन्छ ।
सन् १९९७ को सेप्टेम्बर महिनामा पेज र ब्रिनले आफ्नो सर्च इन्जिनको डोमेन नाम दर्ता गरे । दर्ता गर्नुअघि उनीहरूको सर्च इन्जिनले स्टानफोर्डको अधिकांश ब्यान्डविथ प्रयोग गरेको थियो । नयाँ डोमेनको नाम गुगल डट कम राखियो ।
बजार प्रतिस्पर्धा
सन् १९९८ को अगस्टमा बजारमा प्रतिस्पर्धा सामना गरिरहेको कम्प्युटर हार्डवेयर तथा सफ्टवेयर कम्पनी सन माइक्रोसिस्टमका सह–संस्थापक एन्डी बेच्टोल्सेमले गुगलका नाममा एक लाखको चेक काटिदिए । तर, सो समयमा गुगल नामक कम्पनी अस्तित्वमा थिए । सोही वर्षको सेप्टेम्बर महिनामा पेज र ब्रिनले क्यालिफोर्नियामा दर्ता गराए र बेच्टोल्सेमको काटेको चेक प्रयोग गर्न सकियोस् भने भर्खरै दर्ता भएको कम्पनीको नाममा बैंक एकाउन्ट समेत खोले ।
पेज र ब्रिनले क्यालिफोर्नियास्थित सुजान वोजिस्कीको ग्यारेजमा नयाँ अफिस राखे । अर्को वर्ष वोज्सिक्की गुगलको मार्केटिङ म्यानेजर बनिन् र हाल उनी युट्युबको सिईओ छन् । त्यसपछिका दिनमा गुगलले निकै ठूलो प्रगति ग¥यो र तीव्र प्रगतिसँगै विश्वको एउटा प्रमुख टेक कम्पनी बन्न सफल भएको छ ।
वर्तमान अवस्था
हाल गुगलले आफ्नो सर्च इन्जिन सेवामात्रै प्रदान गर्दैन । उसले आफ्नो सेवालाई सर्च इन्जिनसहित क्लाउडमा आधारित डक्स, शीट्स् र स्लाइडलगायतका प्रोटक्टिभिटी सफ्टवेयरदेखि पिक्सेल जस्ता स्मार्टफोन उत्पादन र विस्तार गरेको छ । साथै, गुगलले सफ्टवेयर प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको अनुसन्धान तथा विकासमा निकै ठूलो योगदान गर्दै आएको छ । (एजेन्सी)