बुद्ध एयरले क्षमा माग्दै भन्यो, ‘गियर इण्डिकेटर नदेखिँदा समस्या’
अखबार टुडे
प्रकाशित:
२०७८, ११ आश्विन

काठमाडौं, ११ असोज । काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाज अवतरणमा भएको समस्याबारे बुद्ध एयरले स्पष्टीकरण दिएको छ । कम्पनीका अनुसार जहाजमा कुल ७३ जना यात्रुसहितको जहाज विराटनगर अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इण्डिकेटरमा समस्या देखिएको थियो । त्यहाँको टावरले समेत गियर नझरेको जानकारी गराएपछि काठमाडौं फर्काउने निर्णय पाइलटले लिएका थिए ।

सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौंका आकाशमा फन्को मारेको थियो । त्यसबेला सबै सुरक्षा मापदण्ड पूरा गरी जहाज सुरक्षित अवतरण गरेको कम्पनीले जनाएको छ ।

बुद्ध एयरका अनुसार जहाजमा ल्याण्डिङ गेयरका लागि दुई वटा इन्डिकेटर हुन्छन् । जसअनुसार प्राइमरी इण्डिकेटरमा संकेत नदेखिएपनि सेकेन्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको थियो । सुरक्षामा शून्य सहनसिलता अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौं फर्काउने निर्णय लिएको कम्पनीले जनाएको छ ।

काठमाडौं आइसकेपछि क्याप्टेनले बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दिइएको थियो । सोहीअनुसार जहाज सुरक्षित अवतरण गराइएको छ । यस क्रममा यात्रुमा परेको असुविधाप्रति कम्पनीले क्षमा मागेको छ ।

के भएको थियो ?

सोमबार बिहान बुद्ध एयरको जहाज चालक दलका ४ सदस्यसहित ७७ जना विराटनगर प्रस्थान गरेको थियो । सो जहाज सिनियर क्याप्टेन आङगेलु शेर्पाले उडाएका थिए । काठमाडौंबाट विराटनगर प्रस्थान गरेको उक्त जहाज प्राविधिक समस्याको कारण अवतरण गर्न नसकेपछि पुनः काठमाडौंमै फर्किएको थियो । आकाशमा दुई घण्टासम्म फन्को मारेपछि जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा अवतरण गरेको थियो ।

उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँतर्फको पांग्र्रा नखुलेको बताइएको थियो । सबै उपाय अपनाउँदा पनि पाङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौंमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौं फर्काइएको थियो । सो जहाजले धावनमार्ग छोएपछि जहाजको दायाँ–बायाँबाट दमकल र एम्बुलेन्स जहाज गएतर्फ गुडेका थिए ।

प्रतिक्रिया